इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा शीर्ष चारको होडमा रहेको घरेलु टोली युनाइटेडले वेस्ट ह्यामसँग १-१ को बराबरी खेलेको हो।
खेलमा अग्रता वेस्ट ह्यामले बनाएको थियो। पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मिचेल एन्टोनियोले पाहुना टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि रहेको युनाइटेडका लागि एन्टोनियो मार्सियलको पासमा मासन ग्रीनउडले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। उनले खेलको ५१ औं मिनेटमा गोल गरेपछि दुवैतर्फबाट गोल नहुँदा युनाइटेड घरेलु मैदानमै अंक बाँड्न बाध्य भयो।
बराबरी खेलेसँग युनाइटेडको अंक तालिकामा ६३ अंक छ। त्यस्तै वेस्ट ह्याम ३८ अंकसहित १५ औं स्थानमा छ।
एक खेल बाँकी रहँदा तेस्रो स्थानमा रहेको युनाइटेड र चौथो स्थानमा रहेको चेल्सीको समान ६३ अंक छ भने पाँचौं स्थानमा रहेको लेस्टर सिटीको ६२ अंक छ। शीर्ष चारमा रहँदै कुन टिम च्याम्पियन्स लिगमा जाने भन्ने अन्तिम चरणको खेलले निर्धारण गर्नेछ।
