PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा कोरोनाबाट वृद्धको मृत्यु, दुई डाक्टरसहित १७ जनामा संक्रमण पुष्टि



राधेश्याम पटेल

वीरगंजमा कोरोनाबाट वृद्धको मृत्यु, दुई डाक्टरसहित १७ जनामा संक्रमण पुष्टि

वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिकाकै बासिन्दा रहेका उनी निमोनियाबाट ग्रसित थिए।

उनलाई केही दिन अघि वीरगंजको एक निजी अस्पतालबाट कोरोना संक्रमणको सम्भावना देखेपछि गण्डक अस्थायी कोभिड अस्पतालमा लगिएको थियो। उनको मंगलवार साँझ शंकास्पद अवस्थामा मृत्यु भएपछि उनको स्वाब संकलन गरी जाँचको लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो। बुधवार राति १० बजे ती वृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगंजका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए। यसैबीच, नारायणी अस्पतालको ल्याबबाट बुधवार राति सार्वजनिक भएको रिपोर्ट अनुसार ती वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ।

ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकका अनुसार १ सय २८ वटा नमुना जाँचबाट ४ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये वीरगंज नारायणी अस्पतालमै कार्यरत ४० वर्षीय चिकित्सक र दुई वर्ष पहिले अवकाश पाइसकेका र हाल निजी अस्पतालमा उपचार सेवा दिइरहेका ६२ वर्षिय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित बाँकीको विस्तृत रिपोर्ट आउन बाँकी छ। हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ६ महिला र २३ पुरुष गरी कुल २९ जना संक्रमित उपचाररत रहेकोमा अब यो संख्या बढ्ने छ।

कोभिड अस्पतालका अनुसार असार अघि नेपालका १५ प्रतिशत संक्रमितमा कोरोनाको लक्षण देखिएकोमा हालका परिस्थितिमा १५ प्रतिशतमा लक्षण नरहेको तर ८५ प्रतिशतमा ज्वरो, टाउको दुख्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिन थालेको छ।

गण्डकका २९ जना संक्रमतिमा २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले अहिलेको समयमा धरै सावधानी अपनाउनु पर्ने अवस्था आएको डाक्टर सिंहको भनाई छ। २९ जनामध्ये १ जना आइसीयूमा उपचारत रहेकोमा उनको अवस्था हाल समान्य रहेको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले कोरोना समुदायमा फैलिएको हुनसक्ने भएकाले सबै संयन्त्र मिलेर काम गर्नुपर्ने बताए। त्यसबाहेक अन्य कुनै उपाय नरहेको उनको तर्क छ। उनले पर्साको विभिन्न सरोकारवाला निकायसँग गर्नुपर्ने सहकार्यमा कमी आउँदा कन्ट्र्याक्ट ट्रेसिङ, संक्रमित ओसारपसार, नमुना संकलन लगायतको काममा बाधा सृजना भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell