PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ख्वपमा अनलाइनबाट यसरी सञ्चालन हुँदैछ कक्षा ११ को परीक्षा



अमित मचामसी

ख्वपमा अनलाइनबाट यसरी सञ्चालन हुँदैछ कक्षा ११ को परीक्षा

भक्तपुरको देकोचोस्थित ख्वप माध्यामिक विद्यालय। एउटा कक्षा कोठामा दुई जना  शिक्षक छन्। विद्यार्थीको भौतिक उपस्थिति छैन। शिक्षकको अगाडि कम्प्युटर मोनिटर छ। स्क्रिनमा विद्यार्थीहरु देखिन्छन्। शिक्षक भने विद्यार्थीहरुको हाजिरी गर्दैछन्। कम्प्युटर रुममा भने बेन्चहरुमा लहरै शिक्षकहरु बसेका छन्। विद्यार्थीहरु कक्षामा जस्तै शिक्षकलाई सुन्दैछन्। ख्वप विद्यालयमा ८-९ वटा कक्षामा यस्तै दृश्य देखिन्थ्यो बुधवार।

शिक्षक राजन गवचाले एउटा पेपर निकाले र सबै विद्यार्थीलाई पठाए।  विद्यार्थीहरुले पेपरमा भएका प्रश्न हेर्दै उत्तर लेख्न थाले। गवचालगायतका शिक्षकहरु विद्यार्थीले अनलाइनबाट दिएको परीक्षाको निरिक्षक बनी कम्प्युटर अगाडि बसे। परीक्षाभर विद्यार्थीहरुको क्रियाकलापहरु हेर्दै बसे।

सरकारले लकडाउन गरेयता शिक्षा संस्था ठप्प छ। असार १ गतेबाट भने वैकल्पिक कक्षा संचालन गर्न सरकारले अनुमति दियो। तर सरकारले कक्षा ११ को परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाट परीक्षाफल निकाल्ने भनेपछि ख्वप विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको अनलाइनबाट परीक्षा लिन सुरु गरेको हो।

सरकारले साउन ६ गतेबाट १२० दिन लामो लकडाउन अन्त्य गर्दै भदौबाट विद्यार्थी भर्ना र परीक्षा लिने वातावरण बनाउन स्वीकृति दिएको छ। यता भक्तपुर नगरपालिकाका अन्तर्गत संचालनमा रहेको ख्वप विद्यालयले भने अनलाइनबाट पनि परीक्षा संचालन गर्ने नौलो प्रयास गरिरहेको छ।  

विद्यालयका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ भन्छन् ‘अहिलेको अवस्था कति लम्बिन्छ थाहा छैन। त्यसैले भोलि हाम्रो कक्षा कोठा भनेको डिजिटल हुने हो।  यो त्यसैको लागि हाम्रो प्रयास हो। सामान्य अवस्था  जस्तै चलाउन सकू भनेर प्रयास गरेका छौं। प्राविधिक तयारीमा अलि बढी ध्यान भने दिनुपर्छ।’

कक्षामा पढाउँदे आएका शिक्षकहरुका लागि अनलाइन परीक्षा नौलो अनुभव रह्‍यो। शैक्षिक सत्र नै बिग्रन डर भइरहेको बेलामा अनलाइन कक्षा र परीक्षाको सफलताले शिक्षकहरु पनि उत्साहित बनेका छन्।

बुधवार अनलाइन परीक्षापछि शिक्षक सुरज श्रेष्ठले भने, ‘एसईई स्थगित गरेर विद्यालयले नै ग्रेडिङ दिने भइसक्यो। हाम्रीले पनि  यसपटक परीक्षा लिन सक्छ कि सकिँदैन भन्ने थियो। आज अनलाइनबाट परीक्षा हुन सक्छ भन्ने भयो अब। प्रविधिको प्रयोग गरेर अहिलेको समयमा विद्यार्थीले घरमै बसेर  पढ्न र पनि परीक्षा दिन सक्छन् भन्ने पुष्टि भएको छ।’ 

विद्यार्थीहरुको पनि अनलाइन परीक्षालाई सहजै लिएको बताउँछन् उनी।  

++++

विद्यालयले अनलाइनबाट पठनपाठन र परीक्षाकै लागि  भनेर जुमको दश वटा आइडी खरिद गरेको छ। जसकारण ‘अनलिमिटेड’ रुपमा जुमबाट परीक्षा संचालन गरिरहेको बताउँछन् शिक्षक गवचा।

हाललाई विद्यालयले १० वटा कम्प्युटरमा १० वटा आइडीको प्रयोग गरेर परीक्षा संचालन गरिरहेको उनले बताए।

परीक्षाका बारेमा फेसबुक पेजमार्फत विद्यार्थीलाई पहिला नै परीक्षा तालिका पठाइएको छ। अहिले भने परीक्षा हुने एक दिन अघि पेजमार्फत विद्यार्थीहरुलाई सिट प्लानिङ पठाइन्छ। रोल नम्बर अनुसार विद्यार्थीहरुलाई जुम आइडी दिइन्छ। फेसबुक पेजसँगै ‘ख्वप एप’ मा पनि परीक्षाबारे सूचनाहरु पठाइन्छ। ल्यापटप नै चाहिन्छ भन्ने छैन। मोबाइलबाट पनि विद्यार्थीहरु परीक्षामा सहभागी हुन सक्छन्।

हाल भइरहेको अनलाइन परीक्षा बारेमा गवचा भन्छन्, ‘सरकारले ११ को परीक्षा नगर्ने र आन्तरिक मूल्यांकनबाट नम्बर दिन भन्यो।  बोर्डको परीक्षाको नतिजा जथाभावी पठाउन नि भएन। परीक्षा नलिइ नम्बर पठाए नि हुन्छ भन्ने धेरै विद्यार्थीमा लागेको थियो। तर मूल्यांकन पद्धति भनेर एकदमै फेयर हुनुपर्छ। वर्षभरी पठाइसकेपछि मूल्यांकन नै नगरी नम्बर पठाउनु जायज लागेन।  त्यसैले अनलाइनबाट ५० पूर्णाङकको परीक्षा अनलाइन परीक्षा लियौं।’

उनका अनुसार पहिलो र दोस्रो ट्रमको परीक्षाको २५-२५ प्रतिशत र अहिलेको ५० प्रतिशत गरेर सय पूर्णाङक को परीक्षाफलको नतिजा जाने गरी यो परीक्षा लिइएको हो।

प्रिन्सिपल श्रेष्ठ अनलाइन परीक्षाको कुरा हुँदा त्यो सम्भव नहुने, विद्यार्थीहरु गाउँमा गएको,  सबैसँग इन्टरनेट पहुँच नभएको भन्ने गुनासोसमेत आएको बताउँछन्।

‘त्यो वास्तविक्ता पनि हो। त्यसैले हामीले सर्भे गर्‍यौं। सबै विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई फोन गर्‍यौं। उनीहरुको अवस्था बुझ्यौं। हामीले गरेको सर्भेमा करिब ८८ प्रतिशत विद्यार्थीहरुसँग इन्टरनेटको पहुँच रहेको पायौं।’

इन्टरनेटमा पहुँच नभएका पाइएकाहरुलाई भने विद्यालयले कन्भिन्स गराउने प्रयास गर्‍यो। धेरै अभिभावक त्यसमा सकारात्मक भएको उनी बताउँछन्।

शिक्षक गवचा अनलाइन परीक्षा हचुवाको भरमा नभइ अध्ययन गरेर  गरेको बताउँछन्।।

‘यो हुँदै हुँदैन भन्ने पनि थिए। हामीले त्यसै बस्नु भन्दा केही नयाँ गरौं भनेरै यो गरेका हौं’ उनले भने, ‘इन्टरनेटको सुविधा नुहुनेलाई एनटिसीको विभिन्न नेट प्याकेजको अपसन दिएका छौं। सस्तो डाटा प्याक चलाएर पनि धेरै विद्यार्थीहरु सहभागी भएका छन्। वत्ती नभएको समयमा यही प्याकेजलाई वैकल्पिक प्रयोग गर्न सक्ने बारेमा हामीले विद्यार्थीलाई भनेका छौं।’

हाल विद्यालयले संचालन गरिरहेको परीक्षामा केही विद्यार्थीहरुमात्रै उपस्थिति हुन नसकेको प्रिन्सिपल श्रेष्ठले बताए।

‘धेरै टाढा रहेको। इन्टरनेटको पहुँचबाट टाढा रहेका। वैकल्पिक व्यवस्था गर्नै नसक्ने अवस्थामा रहेका केही विद्यार्थीहरु छन्। हामीले त्यो बुझेका छौं। परीक्षा नदिँदैमा उनीहरुसँग अन्याय भने हुँदन।’

विद्यालयले संचालन गरेको अनलाइन परीक्षाको ‘रेस्पोन्स’ राम्रो आएको श्रेष्ठ बताउँछन्। पहिलो  र नयाँ प्रयासमा विद्यार्थीको सहभागी राम्रो रहेको र अभिभावकहरु कन्भिन्स भएको उनको दाबी छ।

‘घरमा हाम्रो विद्यार्थी के गरेर बस्छ भनेर चिन्ता थियो। पठनपाठन नहुँदा बाटो बिरायो भन्ने चिन्ता थियो। त्यसैले लकडाउन घोषणा भएपछि कोर्स सकिएपनि अनलाइनबाट रिभिजन चलायौं। र अहिले अनलाइन परीक्षा पनि।’ उनी भन्छन्।

विद्यालय प्रशासनले अनलाइन परीक्षा लिनका लागि सुरुमा धेरै मिहिनेत चाहिन्छ भन्ने सोचेको थियो। तर प्रयास त गर्नै पर्‍यो। काम गर्दै जाँदा भने सहज भएको शिक्षकहरु बताउँछन्।

सरकारले भदौ १ गते बाट विद्यार्थी भर्ना र  परीक्षा लिन स्वीकृति दिएको छ। तर कोरोनाको संक्रमणबीच कसरी भर्ना लिने र परीक्षा संचालन गर्ने भन्ने बारेमा मापदण्ड बनिसकेको छैन। विद्यालयहरु पनि अन्यौलमा रहेका छन्।  यता ख्वप विद्यालयले भने अनलाइन कक्षा संचालन गरेर आगामी शैक्षिक सत्र समेत अनलाईनबाट संचालन गर्न सक्ने अवस्था सिर्जना भएको दाबी गरेको छ।

‘नयाँ शैक्षिक सत्रको तयारी हुँदैछ। महामारीको परिस्थितित र सरकारको निर्णय हेर्छौं। जस्तोसुकै परिस्थितिमा कक्षा संचालन गर्न सकिँदो रहेछ भनेर चाहिँ अहिले हामीले विश्वास लिएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell