PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

'जिरो एक्टिभ केस' मा ओर्लेको साता नबित्दै ४५ संक्रमित पुगेको पर्सामा कस्तो छ तयारी? लकडाउन होला त फेरि?



राधेश्याम पटेल

'जिरो एक्टिभ केस' मा ओर्लेको साता नबित्दै ४५ संक्रमित पुगेको पर्सामा कस्तो छ तयारी? लकडाउन होला त फेरि?

वीरगंज : नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालबाट गत असार ३१ पर्साका एक जनामात्र कोभिड-१९ का संक्रमितलाई डिस्चार्ज गर्ने तयारी हुँदै थियो। उनलाई डिस्चार्ज गरी साउन १ गते पर्सालाई 'ग्रिन जोन'को घोषणा गर्ने तयारी पनि भइरहेको थियो। नारायणी अस्पतालका चिकित्सकहरु पत्रकार सम्मेलनको तयारी गर्दै थिए।

तर उनीहरुको सोच र तयारीले मूर्त रुप लिन पाएन। नारायणी अस्पतालमा पैसा तिरेर कोभिड-१९ परीक्षण गराएका बाराका सर्वसाधारणमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। यसबीच नारायणी अस्पतालमा परीक्षण गराउनेहरुको रिपोर्ट नेगेटिभ आइरहेको थियो।

बाराका नागरिकमा संक्रमण पुष्टि भएसँगै दैनिक रुपमा पर्साका मानिसहरुमा पनि संक्रमण पुष्टि हुन थाल्यो। यसबीच त्यहाँ परीक्षण गरिएका मध्ये एकै दिन ५० जना सम्मको रिपोर्ट पोजेटिभ आयो। र बुधवार राति पर्साका ४ महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साउन १ गते 'जिरो एक्टिभ केस'को अवस्थामा पुगेको पर्सामा ७ गतेसम्म आइपुग्दा ४५ एक्टिभ केस पुगिसकेका छन्।

यहीबीच वीरगंज ५ माइस्थानका ६० वर्षीय कोभिड-१९ का वृद्धको उपचारको क्रममा मृत्यु पनि भएको छ। पर्साबाट मृत्यु हुने त्यो पहिलो केस हो। ‘हामी जिरोमा पुगिसकेका थियौं। अहिले एक मृत्युलाई छाड्दा अहिले एक्टिभ केस ४५ पुगेको छ,’ गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटरका डा.उदयनारायण सिंहले भने, ‘एकैपटक संक्रमितको संख्या बढ्दै जाँदा व्यवस्थापनको समस्या देखिन थालेको छ। तत्कालै पूर्व तयारीको काम नथाले पर्सामा संक्रमितलाई राख्ने ठाउँको अभाव हुन सक्छ।’

कोभिड-१९ नियन्त्रण गर्ने संकट व्यवस्थापन केन्द्रको टिमले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको सुझाब छ।

‘साउन १८ गतेपछि वीरगंज महानगर र गण्डक अस्पतालको सम्झौता पनि सकिदै छ, त्यसपछि संक्रमितलाई कहाँ राख्ने?  यस विषयमा वीरगंज महानगर, प्रदेश सरकार र संघीय सरकारले सोच्नुपर्छ,' डाक्टर सिंहले भने।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार पछिल्लो समय पोजेटिभ देखिएका ४५ जना संक्रमितको सम्पर्कमा रहेका कम्तीमा ३ सय परिवारलाई ट्रेसिङ गरिएको छ।

'उनीहरुको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ, यही दरमा कोरोना पोजेटिभ आउने हो भने न्यूनतम १०० संक्रमित थपिने अनुमान गरेका छौँ,' उनले भने, ' पर्सामा आइसोलेसनको क्षमता ७५ बेडको मात्र छ। बाँकी संक्रमितलाई कहाँ राख्ने हो?'

हाल गण्डक अस्थायी कोभिड अस्पतालमा १० महिलासहित ४५ जनाको उपचार भइरहेको छ। उपचाररत संक्रमितमा कोभिड-१९ का मध्यम तथा गम्भिर लक्षणहरु पनि देखिएका छन्।

लकडाउन लगाउन छलफल चल्दै

यसैबीच जिल्लाको अवस्थालाई मध्यनजर गर्दै जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले बिहीवार बिहानैदेखि सरोकारवालाहरुसँग छलफल तीव्र पारेको छ। संकट व्यवस्थापन केन्द्र पर्साका सदस्य एवं पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले लकडाउन लागु गर्ने विषयमा छलफल चलेको बताइन्। 'लकडाउन लगाउने वा अन्य कुनै उपाय अपनाउने विषयमा छलफल चलिरहेको छ,' उनले भनिन्, 'संक्रमण दरलाई नियन्त्रण गर्नेबारे छलफल भइरहेको छ। अवस्था यस्तै रह्यो भने लकडाउन लगाउनु पर्छ। लकडाउनकै विषयमा छलफल चलिरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell