PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कर्णालीमा थप ३० जनामा कोभिड - १९ पुष्टि, १८१३ संक्रमित पुग्दा १५५२ डिस्चार्ज



पी बी खड्का

कर्णालीमा थप ३० जनामा कोभिड - १९ पुष्टि, १८१३ संक्रमित पुग्दा १५५२ डिस्चार्ज

सुर्खेत : कर्णाली प्रदेशमा थप नयाँ ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। बिहीवार थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत भेरीगंगा नगरपालिका ३ जना र चौकुने गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

दैलेख अस्पताल, दैलेखमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार आठबीस नगरपालिकाका १२ जना, महाबु गाउँपालिकाकामा ११ जना र डुंङ्गेश्वर गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८१३ पुगेको छ। त्यस्तै प्रदेशमा संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या  संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ५५२ पुगेको छ।

हाल कर्णालीमा २५५ जना संक्रमित प्रदेशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। कर्णालीमा

६ जना कोभिड-१९का संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। विहीवार मात्र प्रदेशमा ६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा प्रदेश अस्पताल सुर्खेतबाट ४ जना तथा गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट २ जना रहेका छन्।

कुन जिल्लामा कति संक्रमित

कर्णाली प्रदेशमा सबैभन्दा बढी संक्रमित दैलेखमा रहेका छन्। दैलेखमा ८६३ जनामा संक्रमण पुष्टि भएकामा हाल जिल्लामा १०९ जना संक्रमित आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रलयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै सुर्खेतमा ५०६ जनामा संक्रमण पुष्टि भएकोमा १०६ उपचारका क्रममा रहेका छन्। सल्यानका २७७ संक्रमित मध्ये २३ केस अस्पतालमा उपचाररत छन्। कालिकोटका ६४ संक्रमित मध्ये १२ जना मात्र उपचारका क्रममा रहेका छन्। जुम्लाका ४० मध्ये १ जना उपचारका क्रममा छन्।

रुकुम पश्चिममा हाल १४ जना संक्रमित उपचारका क्रममा रहेका छन्। त्यहाँ २४ जनामा संक्रमण पुष्टि भएको छ। जाजरकोटका २३ संक्रमित मध्ये ५ जना उपचारका क्रममा छन्। मुगुका ६ संक्रमित मध्ये एक जना आइसोलेसनमा रहेका छन्। हुम्लामा ३ र डोल्पामा ४ जनामा जनामा संक्रमण पुष्टि भएकोमा हाल यी जिल्लामा एक्टिभ केस छैनन्।

डोल्पामा चार जनामा संक्रमण पुष्टि भएकोमा एक जनाको मृत्यु  भएको छ।

प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये ५३ जना बाहिरी प्रदेशका रहेका छन्।

जसमध्ये अछाम, दोलखा, धनुषा, रुपन्देही, सप्तरी, उदयपुर, कैलाली, दार्चुला, कास्की, गुल्मी, कञ्चनपुर, खोटाङ, पाल्पा, स्याङ्जा, चितवन र नवलपरासी पूर्वका १/१ जना रहेका छन्। उनीहरु संक्रमण पुष्टि हुँदा कर्णाली प्रदेशमा रहेका थिए। त्यस्तै बाँकेका ६, बझाङ र रामेछापका ३/३, बाजुरा, ओखलढुंगा, इलाम, बैतडी, धादिङ, लमजुङ, दाङ र बाजुराका २/२ जना व्यक्तिमा पनि कर्णाली प्रदेशमै संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं र ताप्लेजुङका पनि ४/४ जनामा कर्णालीमै संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell