PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

धोबीखोला किनारमा ७ करोड बढी लगानीमा आधुनिक पार्क



पहिलोपोस्ट

धोबीखोला किनारमा ७ करोड बढी लगानीमा आधुनिक पार्क

काठमाडौं: काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा नम्बर ५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ। महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बीचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो।

लागत अनुमान ३ करोड ३७ लाख ३८ हजार अनुमान गरिएको नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ। उक्त पार्क प्रस्ताव आह्वानको चरणमा पुगेको वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए।

विहार र बुद्धको मुर्तिसहितको सो पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ। उक्त पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डंगोलले बताए।

हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुनर्प्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ। ‘नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचिन शैलीमा निर्माण गरिने छ,’ डंगोलले भने, ‘राजधानीको कोलाहल बीचमा पनि हामीले सकेसम्म शान्ति दिन सकियो भनेर यो पार्ककलाई नमूना बनाउने तयारी गरेका छौँ।’ नरबुद्ध पार्कको आर्किटेक डिजाइन निर्मिता डंगोलले तयार पारेकी हुन्।

वडाध्यक्ष डंगोलले महानगर पार्कको प्रारम्भिक डिजाइन तयार भएको बताए। महानगर पार्कको पनि लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ। छलफलमा सहभागी मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने प्रष्ट पारे।

मेयर शाक्यले भने, ‘हामीले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सार्वजनिक जग्गा र खुल्ला क्षेत्रको संरक्षण गर्दै अनि हरियाली प्रवर्द्धनलाई ध्यानमा राखेर ३० बढी पार्क निर्माण गर्ने लक्ष्य लिएका छौँ। हरेक वडामा पार्क निर्माण गर्ने हाम्रो तयारी छ। वडा–५ मा पनि यसरी पार्क निर्माणको काम अघि बढेकोमा खुशी लागेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell