PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कक्षा ११ को परीक्षाका लागि नयाँ कार्यविधि: विद्यालयले नै परीक्षा लिने, समिति बनाएर मूल्यांकन गर्ने



मुकुन्द घिमिरे

कक्षा ११ को परीक्षाका लागि नयाँ कार्यविधि: विद्यालयले नै परीक्षा लिने, समिति बनाएर मूल्यांकन गर्ने

काठमाडौं: कक्षा ११ को रद्ध गरिएको परीक्षाको लागि सरकारले कार्यविधि जारी गरेको छ। मन्त्रालयले सरकारले लकडाउन र कोरोना महामारीका बीच स्थगित गरेको ११ को परीक्षालाई मुर्तरुप दिन ‘कक्षा ११ को परीक्षा संचालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ ल्याएको हो।

एसईई परीक्षाको कार्यविधिसँग मिल्दोजुल्दो गरी आएको कक्षा ११ को परीक्षा संचालनसम्बन्धी कार्यविधिमा परीक्षा सञ्चालन र व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गर्नेछ। प्रधानअध्यापकको संयोजकत्वमा रहेको उक्त समितिमा एकजना वरिष्ठ शिक्षक र विषय शिक्षक रहने कार्यविधिमा उल्लेख छ। त्यस्तै परीक्षा अनुगमन परीक्षा नियन्त्रण बोर्डले गर्नेछ। त्यस्तै प्रयोगात्मक परीक्षा विद्यालयले नै गराउने छ भने लब्धांक प्रमाणपत्र दिलाउने अधिकार पनि विद्यालयमै रहने छ।

कार्यविधिमा सामान्य अवस्थामा ११ को परीक्षा सञ्चालनमा केन्द्रीत हुँदै अहिलेको कोरोनाको कहरलाई हेरेर परिच्छेद ७ मा संक्रमणकालीन अवस्था राखेर अहिलेका लागि विशेष व्यवस्था गरेको छ।

के छ कार्यविधिमा ?

कार्यविधिले परीक्षाका लागि तीन सद्स्यीय समितिका माध्यमबाट सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकन गर्नेछ। प्रश्न पत्र निर्माणका लागि पाठ्यक्रममा उल्लेखित पाठ्यभारलाई समेट्ने गरेर विषय शिक्षक/समितिबाट मूल्यांकन योजना अनुरुप प्रश्नपत्र निर्माण गराउने उल्लेख छ।

यो कार्यविधि अनुरुप बोर्डले तोकेको मापदण्डअनुरुप जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने उल्लेख छ।

त्यस्तै प्रयोगात्मक परीक्षाका लागि बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्नेसम्बन्धि निर्देशन अनुरुप सम्बन्धित विषय शिक्षक र बाह्य परीक्षकबाट दिएको अंकलाई प्रमाणीकरण गर्नुपर्ने उल्लेख छ। बाह्य परीक्षकको सन्दर्भमा फरक विद्यालयको सम्बन्धित विषय शिक्षक नियुक्ति गर्नुपर्ने उल्लेख छ।

विद्यालयको दायित्व के?

कार्यविधिमा विद्यालयको काम कर्तव्य र अधिकारबारे १४ वटा बुँदा छन्। जसमा विद्यार्थीले अध्ययनका लागि छनोट गरेका विषयहरुको बोर्डमा रजिस्ट्रेसन पठाउने देखि दैनिक अभिलेख राख्नु पर्ने लगायतका बुँदाहरु उल्लेख छन्। त्यस्तै परीक्षामा सहभागी हुन विद्यार्थीको ७० प्रतिशत हाजिरी चाहिने उल्लेख छ।

त्यस्तै विद्यालयले परीक्षा गर्नुभन्दा अघि नै सोझो र छरितो माध्यमबाट बोर्डमा जानकारी गराउनु पर्ने व्यवस्था छ।

त्यस्तै कार्यविधिले ग्रेडसिट सम्बन्धि पनि व्यवस्थागरेको छ।

‘समितिबाट प्रमाणित भए अनुरूपको प्राप्ताङ्कका आधारमा नियमित परीक्षार्थीहरूलाई विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुरूप विद्यालयको नाम र लोगो अङ्कित अक्षराङ्कन पद्धतिअनुरूप ग्रेड सिट प्रमाणित गरी उपलब्ध गराउनुपर्नेछ।’ कार्यविधिमा भनिएको छ, ‘विद्यार्थीहरूलाई उपलब्ध गराउने ग्रेडसिटमा बोर्डबाट उपलब्ध गराइएको रजिष्ट्रेशन नम्बर तथा नौ अंककोसिम्बोल नम्बर उल्लेख गर्नुपर्नेछ।’

ग्रेडसिटमा पहिलो अंक १, त्यसपछिको चार अंक विद्यालय कोड र अन्तिमका चार अंक क्रमशः विद्यार्थीको रजिष्ट्रेशन नम्बरअनुसारको क्रममा सिम्बोल नम्बर कायम गर्नुपर्ने उल्लेख छ।

त्यस्तै उत्तरपुस्तिका अलगअलग थैलामा सिलबन्दी गरी कम्तिमा एक वर्षसम्म सुरक्षितराख्नुपर्ने देखि विद्यालयले पठाएको विवरण झुटा भएमा विद्यालय नै त्यसको जिम्मेवार हुने कार्यविधिमा उल्लेख छ।

त्यस्तै कार्यविधि अनुरुप राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि छनौट गरेका विषयहरूको रजिष्ट्रेशन गराउने, अद्यावधिक गर्ने र सोको विवरण विद्यालयलाई उपलब्ध गराउने देखि परीक्षा नियन्त्रण कार्यालयको निर्देशनबमोजिम विद्यालयद्वारा सञ्चालन गर्ने वार्षिक परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने लगायतको भूमिकामा हुनेछ।

परीक्षाको सन्दर्भमा हरेक वर्ष जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था उल्लेख भएपनि अहिलेको सन्दर्भमा भने सङ्क्रमण कालिन व्यवस्था कार्यविधिमा उल्लेख छ।

कोभिड महामारीको अहिलेको सन्दर्भमा के हुन्छ?

कार्यविधिले संक्रमणकालीन व्यवस्था भन्दै यसपटकका लागि केही फरक व्यवस्था गरेको छ।

नियमित परीक्षा ढिलोमा २०७८ सालको बैशाख/जेष्ठ महिनामा सञ्चालन हुने कक्षा १२को परीक्षा आवेदन फाराम भर्नुपूर्व लागि परीक्षा गराइसक्नु पर्ने व्यवस्था गरेको छ।

‘बोर्डले तोकेको समयावधिभित्र  विद्यालयको अनुकूलतामा सामाजिक दूरी कायम गर्न मिल्ने गरी एकदिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा फरक विषय वा दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालनगर्ने,’ कार्यविधिमा भनिएको छ, ‘एकै दिन सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्ने।’

त्यस्तै आंशिक र ग्रेड वृद्धि गर्ने विद्यार्थीहरुका सन्दर्भमा २०७७ सालको १२ को परीक्षा सुरुहुनु भन्दा अगाडि सामाजिक दुरी कायम राख्न सकिने गरी एक सिफ्ट या दुई सिफ्टमा परीक्षा गराउने कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा बोर्डका प्रदेश तथा शाखा कार्यालयहरुको परीक्षा नियन्त्रण कार्यालयहरुको, विद्यालयको, परीक्षासमितिल स्पस्ट रुपमा काम, कर्तव्य र अधिकार क्षेत्र छुट्याएको छ।

कार्यविधि अनुसार कक्षा १२ को परीक्षामा सहभागि हुन न्युनतम सैद्धान्तिक तर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनुपर्ने व्यवस्था गरेको छ। तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थिले ग्रेड वृद्धि गर्न पाउनेछन्।

त्यस्तै कार्यविधि कार्यन्वयनको क्रममा समस्या आएमा बोर्डले बाधा अड्काउ फुकाउ गर्नसक्ने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell