वीरगंज : पछिल्लो पटक वीरगंजमा डाक्टर तथा अस्पतालमा भर्ना भएका बिरामीहरुमा संक्रमण पुष्टि भएसँगै पुनः उपचार सेवा प्रभावित हुने अवस्था बन्दै गएको छ। बिहीवारदेखि नारायणी अस्पतालको सर्जिकल, आइसीयू कक्ष सिल गरिएको छ।
त्यस्तै, एडभान्स मेडिकेयर हस्पिटल, अलि अर्थो ट्रमा सेन्टर, शान्ति पोली क्लिनिकलगायत अस्पताल सिल भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए। उनका अनुसार पछिल्लो एक सातामा दुई जना डाक्टर तथा केही विभिन्न अस्पतालमा उपचाररत बिरामीहरुमा संक्रमण देखिएकोले अस्पतालको सेवा बन्द गर्नु पर्ने नीति अनुसार प्रशासनको निर्णय अगावै व्यवस्थापन पक्षले नै अस्पताल सिल गरेको उनले बताए।
‘नारायणी अस्पतालका चिकित्सक, बिरामी तथा सरसफाइकर्मीमा कोरोना पुष्टि भएको छ’, उनले भने, ‘अस्पतालहरु सिल भएका छन् तर प्रशासनको आधिकारिक निर्णय आउन बाँकी छ।’
अस्पताल सिल हुन थालेपछि पर्सा, बारा, रौतहटका बिरामीहरुको लागि उपचार सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल शुरु भएको उनले बताए। शुक्रवार बिहान ११ बजे बस्ने संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन तथा अस्पतालको सेवाका बारेमा आधिकारिक निर्णय आउने तयारी रहेको बताइएको छ।
