PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जसले खाजा खुवाउन लग्यो, उसैले बनाइरहेको थियो एसिड आक्रमणको 'प्लट'



सविन ढकाल

जसले खाजा खुवाउन लग्यो, उसैले बनाइरहेको थियो एसिड आक्रमणको 'प्लट'

काठमाडौं : अन्दाजी ४५ वर्षीय मोहम्मद आलामले बिहीवार २२ वर्षीय युवतीलाई पटकपटक फोन सम्पर्क गरिरहेका थिए। खाजा खानका लागि उनले प्रस्ताव राखेका थिए। सुरुमा त युवतीले 'इग्नोर' गरिन्। तर, ओखलढुङ्गा घर भएकी उनले खाजाको प्रस्ताव अस्वीकार गर्न सकिनन्।

साँझ छिप्पिँदै गएको थियो। युवतीले आलमसँग खाजा खाने निर्णय गरिन्। आलम मोटरसाइकल लिएर बाफलको सृजनशील टोल पुगे।

युवती कोठाबाट दही किन्न भन्दै साँझ ७ बजेतिर निस्किइन्। मोहम्मदले युवतीलाई मोटरसाइकलमा राखे। दुवै खाजा खान निस्किए। करिब ३० मिनेटपछि उनले ती युवतीलाई सृजना टोल नजिकै ल्याएर छोडिदिए। त्यसपछि उनी आफ्नै बाटो लागे। युवती केही समय अगाडी आलमकै झोला कारखानामा काम गर्थिन।

उनी हिँडेको केही समय नबित्तै एक युवकले ती युवतीमाथि एसिड प्रहार गरे। एसिड हान्ने युवक भाग्न सफल भए। युवती चिच्याउन थालिन्। मानिस भेला भए, उनलाई अस्पताल लगियो। प्रहरीले घटनाको जानकारी पाएपछि अनुसन्धान सुरु गर्‍यो। काठमाडौंमा भएको एसिड आक्रमणले प्रहरीलाई थप चुनौती दिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अप्रेसन सुरु गर्‍यो। घटना भएको तीन घण्टा नबित्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो। तर, घटनामा समातिएका युवक युवतीका लागि अपरिचित भने थिएनन्।

समातिएका एकजना उनै थिए जसले युवतीलाई मोटरसाइकलमा राखेर खाजा खुवाउन लगेका थिए। उनले युवतीलाई सकुशल बाटोमा छोडिदिएका थिए। तर, युवतीलाई खाजा खुवाउन बोलाउनु र 'पिक एण्ड ड्रप' गर्नुमा एउटा अपराधको योजना तयार भइरहेको थियो।

विवाहित आलम र पीडित युवतीबीच पुरानै चिनजान थियो। आलम र युवतीमात्र होइन उनका परिवारको समेत जान पहिचान थियो। युवतीलाई पहिलेदेखि नै आलमले 'फलो' गर्ने गरेका थिए। प्रेमप्रस्ताव समेत राखेका थिए। तर, युवतीले उनीहरुको सम्बन्धलाई प्रेम र विवाहको रुपमा हेरेकी थिइनन्।

युवतीको अरु नै प्रेमी भएको जानकारी पाएपछि आलममा अपराधिक सोच पलाएको थियो। युवतीले पनि आलमसँगको सम्पर्क पातलो बनाउन थालेकी थिइन्। त्यसपछि आलमले युवतीलाई एसिड आक्रमण गर्ने योजना बनाएका थिए।

उनको योजनालाई साथ दिने एक युवक थिए भारत घर भएका मुन्ना मोहम्मद। बिहीवार साँझ आलमले पूर्व योजनाअनुसार नै मोटरसाइकलमा मुन्नालाई एसिडसहित ल्याएर युवती फर्किने बाटोमा तयारी अवस्थामा राखेका थिए।

उनीहरु खाजा खान जाँदा मुन्नाले युवती फर्किने बाटो कुरेर बसेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। युवतीलाई आलमले उनको कोठा नजिकै छोडेर फर्किए। त्यसपछि, मुन्नाले योजना अनुसार युवतीको अनुहारमा एसिड हानेर फरार भए।

यता आलम भने मुन्नालाई कुरेर बसेका थिए। मुन्ना दौडिएर आएपछि आलमले मोटरसाइकलमा राखेर उनलाई कोठामा पुर्‍याए।

तर, उनीहरुको अपराधको सबुत लुक्न सकेन। उनीहरुको केही हर्कत र मुमेन्ट नजिकै रहेको सीसी क्यमरामा कैद भइरहेको थियो। प्रहरीले त्यही क्लुलाई टेकेर युवकहरुसम्म पुग्यो र समात्न सफल भयो।

एसिड प्रहार गरेपछि पनि आलमले युवतीको मोबाइलमा फोन गरेको देखिएको छ। फोनले युवतीकी दिदीले उठाएकी थिइन्। आलमले आफूलाई प्रहरीले एसिड आक्रमण गरेको भन्दै सोधपुछ गरेको फोनमा बताएका थिए। 'घटनापछि बच्नका लागि बहानाबाजी गरेको देखिन्छ। यसले उनीमाथिको शंका थप पुष्टि भएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell