PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा योगेशको असहमति, यसरी खण्डन गरे ओलीको बोली



पहिलोपोस्ट

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा योगेशको असहमति, यसरी खण्डन गरे ओलीको बोली

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन्।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम र अयोध्या’का विषयमा दिएको अभिव्यक्तिमा असहमति राख्दै पर्यटनमन्त्री भट्टराईले घुमाउरो तरिकाले खण्डन गरेका हुन्। मन्त्री भट्टराईले नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक भए पनि अहिलेको समयमा यस्ता कुरा बोल्दा चनाखो हुनुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरे।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले सन्तुलित र तथ्यपरक ढंगले विचार व्यक्त नगर्दा त्यसले सांस्कृतिक र जातिय द्वेषहरु फैलाउने बताए। सबैको आ—आफ्नै संवेदनशीलता हुने उल्लेख गर्दै उनले यस्ता कुरामा विचार राख्दा चनाखो हुनुपर्ने बताए।

उनले भने, ‘नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक हो। यसमा कुनै दुईमत छैन। विभिन्न क्षेत्रबाट यसको अध्ययन गरी तथ्यहरु बाहिर ल्याउँदै जानुपर्छ। आजको दिनमा हामीले यस्ता कुरा गर्दा सबैको आफ्ना संवेदनशीलता हुन्छन्। जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र देश देशका संवेदनशीलता हुन्छन्। त्यस कुरामा चनाखो हुनै पर्छ। सन्तुलित र तथ्यपरक ढंगले आफ्नो विचार प्रकट गर्नुपर्छ। त्यसले जातीय, सांस्कृतिक, धार्मिक, भाषिक द्वेषहरु जन्मिनेतर्फ भन्ने तर्फ ध्यान दिनुपर्छ। कुनै पनि छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध प्रतिकुल नहोस भन्नेमा हामी सचेत छौँ। सरकार सचेत छ।’

मन्त्री भट्टराईले सांस्कृतिक तथा पुरातात्विक विषयमा अध्ययन, अनुसन्धान र अभिलेख नेपालसँग नभएको समेत बताए। उनले पशुपति, लुम्बिनी लगायतका धार्मिक क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको जानकारी दिए। अब मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ।

पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशका मुख्य चाँडपर्वहरु संरक्षणको अभियान सुरु गरिएको उनले बताए। सात वटै प्रदेशमा प्रतिप्रदेश एक गाउँ पर्यटकीय गाउँको रुपमा विकास गर्ने गरी काम अगाडि बढाइएको पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell