PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा



रासस

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४:२० बजे पहिरो खसेको थियो। सो पहिरो पन्छाएर बिहान ९:१० बजेदेखि सडक सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८:४५ बजे पनि पहिरो खसेको थियो। राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

पालुङ–नौबिसे खण्ड खुल्यो

सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ–नौबिसे खण्ड पुनःसञ्चालनमा आएको छ। गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो।

एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ। ‘अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो,’ इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने। बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौं सवारी साधन यही सडक भएर सञ्चालन भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell