PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युवतीले 'इग्नोर' गरेको 'इगो' मनमा लिएका आलमले एक सातादेखि बुनेको योजना



सविन ढकाल

युवतीले 'इग्नोर' गरेको 'इगो' मनमा लिएका आलमले एक सातादेखि बुनेको योजना

काठमाडौं  : बिहीवार राति काठमाडौंको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

शुक्रवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो। प्रहरीले रौटहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने ४७ वर्षीय मोहम्मद आलम र भारत घर भई डल्लु बस्दै आएका २२ वर्षीय मुन्ना भनिने फैयाज आलमलाई बिहीवार राति ११ बजे डल्लुबाट पक्राउ गरेको थियो। पक्राउ परेका आलम गार्मेन्ट व्यवसायी हुन्। अर्का अभियुक्त भने आलमकै कारखानामा काम गर्दै आएका थिए।

बिहीवार करिव ७ बजेर ५५ मिनेटमा आलमको योजना नै ओखलढुङ्गा घर भई हाल बाफल बस्दै आएकी २२ वर्षीया युवती माथि एसिड प्रहार भएको थियो। योजनाअनुसार घरबाट ल्याएको ट्वाइलेट सफा गर्ने एसिड भने फैयाजले युवतीमाथि प्रहार गरेका थिए। 'युवतीलाई आलमले केही प्रस्ताव राखेको तर उनले त्यो प्रस्ताव अस्विकार गरेपछि घटना भएको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

पीडित युवती र आलमको करिव तीन वर्षअघि नै चिनजान भएको थियो। युवतीकी दिदी आलमकै कारखानमा काम गर्थिन्। सोही क्रममा पीडित युवती पनि केही महिना आलमको कारखानमा काम गर्ने गरेको खुलेको छ। यही क्रममा दुई जनाबीच चिनजान भएको थियो। आलम विवाहित हुन्। उनको काठमाडौंमा घर परिवार छन्। उनले युवतीको अर्को प्रेमी भएको थाह पाएपछि विभिन्न प्रकारको धम्कीसमेत दिने गरेका थिए।

चिनजानपछि उनीहरुको फोन सम्पर्कदेखि भेटघाटसमेत हुने गरेको थियो। विगत तीन महिनदेखि युवतीले आलमको फोन सम्पर्क र भेटघाटलाई अस्विकार गर्दै आएकी थिइन्। तर, पनि आलमले यो बिचमा पटकपटक फोन सम्पर्क तथा बाटोमा फलोसमेत गर्ने गरेको खुलेको छ। बिहीवार पनि १० पटक भन्दा बढी फोन गरेका थिए। आलमलाई इग्नोर गर्न थालेपछि उनले घटनाको योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

'एक सातादेखि उनीहरुबीच घटना गराउने कुराकानी भएको देखिन्छ। त्यही अनुसार बिहीवार एसिड लिएर मुन्नालाई लिएर पुगेका थिए,' एक प्रहरी अधिकृतले सुनाए।

आफ्नो कारखानामा काम गर्ने मुन्ना भनिने फैयाजलाई मोटरसाइकलमा लिएर आलम बाफल पुगेका थिए। फैयाजलाई युवती आउने बाटोको रेक्की गर्न लगाए। उनी युवतीलाई बाइकमा लिएर गए। करिब ३० मिनेट खाजा खाएर पुनः त्यही बाटोमा छोडिदिए। जहाँ पहिले नै फैजान एसिड लिएर तयारी अवस्थामा थिए।

रात र एकान्तको समय भएको मौका छोपी फैजानले एसिड हानेर भागे। 'कोठाभन्दा नजिकै एसिड हानिएको हो। उसलाई युवती यही बाटो भएर फर्किन्छे भन्ने पूर्व जानकारी नै थियो,' एसएसपी ज्ञवालीले भने।

एसिड हानेपछि फैजानलाई बाइकमा राखेर कारखाना लगेर छाडेका थिए। घटना भएको स्थानमा नजिकै भएको सिसि क्यामरा फुटेज् र अन्य अनुसन्धानले दुई जनाले आक्रमण गरेको खुलेपछि बिहीवार राति नै डल्लुबाट उनीहरुलाई पक्राउ गरेको एसएसपी ज्ञवालीले बताए।

पक्राउ परेका फैजानले कुनै रकम र अन्य प्रलोभनभन्दा पनि मालिकले भनेको काम मानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell