काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा कसैले आफूलाई सर्वपरि ठानेमा त्यो पतन भएर जाने टिप्पणी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा तुल्सीलाल प्रतिष्ठानले राजधानीमा आयोजना गरेको स्मृति सभामा नेता नेपालले पार्टीका नेतालाई आडम्बर त्याग्न आग्रह गरे। नेतृत्वले आत्मालोचना गर्नुपर्ने उनको भनाई थियो।
'हामीले जनताको भावना र चाहना बुझ्न सकेका छौं कि छैनौं? जिम्मेवारी राम्ररी पुरा गर्न सकेका छौं कि छैनौं? आत्मालोचना गर्नुपर्छ। यो मात्रै ठिक हो भन्ने कुरा अरुमा थोपर्न त खोजेका छैनौं?'उनले प्रश्न गरे।
कम्युनिस्ट आन्दोलनको बारेमा दोस्रो पुस्ता चुप लागेर नबस्ने नेता नेपालको भनाई थियो।
नेता नेपालले पार्टीमा विचार पद्धतिका बारेमा बहस हुनसक्ने उनले बताए। विधिको पालना गरियो भने संगठन राम्ररी सञ्चालन हुने र त्यसैमा जोड गरिरहेको उनको तर्क छ।
नेता नेपालले सर्वपरी ठान्ने नेता पतन हुने चेतावनी दिए। 'आफूलाई मात्रै सर्वपरी ठानियो भने त्यस्तो अवस्थामा त्यो व्यक्तिको पतन हुने बाहेक केही पनि हुँदैन। त्यस्तो बिचारमा कोही डुबेको छ भने बाहिर निस्कौं अझै समय छ,' उनले भने।
केहीले पार्टी फुट्यो भनेर हल्लासमेत चलाएको भन्दै नेता नेपालले नेकपा नफुट्ने दाबी गरे। 'कम्युनिस्ट पार्टी फुट्न सक्दैन। कसैले भनिहाल्यो पार्टी फुटिहाल्छ कि भनेर हामी थरथर कामिरहन्छौं। कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ। जनताका बीचमा अनेक क्रिया प्रतिक्रिया फैलिरहेका होलान। सहि कुराको प्रचार गर्ने पनि होलान। कुप्रचारको पछाडि लाग्नुपर्ने अबस्था छैन,' उनले भने।
उनले नेकपाभित्र ब्यक्ति प्रमुख नहुने र नीति प्रमुख हुने बताए। बहुमतको निर्णय सबैले मान्नुपर्ने नेपालको भनाई छ। 'ब्यक्ति प्रमुख होइन। नीति प्रमुख हो। सामूहिक निर्णय गर्ने र त्यसलाई सबैले मान्नुपर्छ। पार्टीको बहुमतको निर्णय सबैले मान्नुपर्छ,' उनले भने।
