PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा



राधेश्याम पटेल

वीरगंजमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा

वीरगंज : पर्साको जिल्ला संकट व्यवस्थापन केन्द्रले भोलि शनिवार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्मकोे लागि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो। जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गर्दा संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निशेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरू घरबाहिर ननिस्कन आग्रह गरिएको छ। त्यस्तै, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राइपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा बन्द रहने बताइएको छ।

कोभिड-१९ को रोकथाम, नियन्त्रण, उपचार एवं व्यवस्थापनको लागि सो निर्णय गरिएको बताइएको छ। बैठकले सबै निकायहरूको सहयोग र समन्वयमा कोभिड-१९ को रोकथाम, नियन्त्रण एवं व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell