वीरगंज : शुक्रवार अपराह्न गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएकी किशोरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
नारायणी अस्पतालको पीसीआर ल्याबमा शुक्रवार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो। उनीसँगै पर्सा, बारा र रौतहटका थप ८ जना गरी कुल ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताएका छन्।
उनका अनुसार नारायणी अस्पतालको ईमरजेन्सी वार्डमा उपचार गर्दा स्वास्थ्यमा गडबडी भएपछि उनलाई बुधवार वीरगंज हेल्थ केयर अस्पताल गण्डक बहुअरीमा पठाइएको थियो। तर अवस्था त्यहाँ पनि सामान्य नभएपछि उनको स्वाब संकलन गरी गण्डक अस्थायी कोभिड अस्पताल पठाइएको थियो।
त्यो भन्दा अगाडि आरडीटी पोजिटिभ देखिएका उनको दुवै फोक्सोमा खराबी देखिएको वीरगंज हेल्थ केयर हस्पिटलका सञ्चालक डा अबुलहैस अन्सारीले बताए।
स्वाब संकलन गर्ने बेलामा बाराको ठेगाना परवानीपुर गाउँपालिका वडा नम्बर ४ लेखिए तापनि उनको वास्तविक ठेगाना वीरगंज–२१ परवानीपुर रहेको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गजेन्द्र पटेलले जानकारी दिए।
