PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अब क्रिकेटमा रणनीति के? अरु खेलका संघ लकडाउन खुलेपछि कसरी जुट्दैछन्?



मुकुन्द घिमिरे

अब क्रिकेटमा रणनीति के? अरु खेलका संघ लकडाउन खुलेपछि कसरी जुट्दैछन्?

काठमाडौं: सरकारले बुधवारबाट १२० दिन लामो लकडाउन अन्त्य गरेसँगै खेल क्षेत्रले पनि राहत पाएको छ। कोरोना भाइरसको संक्रमणका कारण गरिएकोले लकडाउनले खेल क्षेत्र ठप्प बनेको थियो। सरकारले लकडाउन हटाएसँगै विभिन्न क्षेत्रमा गतिविधि बढेसँगै खेल क्षेत्रमा पनि अभ्यास सुरु गराउने तयारी अघि बढ्न थालेको छ।

ब्याडिमिन्टन, कराँते, बक्सिङ लगायतका केहि खेलका अभ्यासहरु लकडाउन खुकुलो भएसँगै खुलेका थिए। तर, अन्य खेलहरुको प्रशिक्षणका लागि भने खेल संघहरु सरकारको निर्णय पर्खाइमा थिए।

सरकारले खेलकुद प्रशिक्षणका लागि भदौ १ गते पछिलाई बाटो खोल्दिएको छ। यसैका आधारमा अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी बोलाएर क्वारेन्टिन राख्ने देखि पिसिआर परीक्षण गरेर भदौ १ गतेबाट अभ्यास सुरु गराउन प्रकृया अघि बढाइसकेको छ।

क्रिकेटको के हुने?

पछिल्लो समय क्रिकेटका खेलाडीहरु कीर्तिपुरस्थित क्रिकेटमैदानमा पुगेर व्यक्तिगत अभ्यास गरिरहेका छन्। यद्यपि अझै कतिपय खेलाडीहरु भने काठमाडौं बाहिर नै छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले क्रिकेटमा फर्कनका लागि यसअघि नै चार चरणको व्याख्या गरिसकेको छ। पहिलोमा खेलाडीले एक्लै अभ्यास गर्नुपर्ने छ। दोस्रोमा तीन खेलाडीको समूहमा अभ्यास गर्न सक्नेछन्। तेस्रो चरणमा सानो समूह या कोचसँग अभ्यास गर्न सक्नेछन्। त्यस्तै, चौथो चरणमा पूरै टीमले अभ्यास गर्न सक्नेछन्। यद्यपि, त्यहाँ भौतिक दुरीको ख्याल गर्नुपर्ने छ।

गाइडलाइन्समा सबै क्रिकेट बोर्डले स्वास्थ्य परीक्षण तथा कोरोना परीक्षणका साथमा १४ दिनको अभ्यासको पनि अनुमति दिएको छ। त्यस्तै, स्वास्थ्य अधिकारीको नियुक्ति गर्न पनि सुझाएको छ।

गाइडलाइनमा खेलाडीको स्वास्थ्य, खेल सामाग्रीहरुलाई सेनिटाइज गर्ने, भौतिक दुरी कायम राख्ने लगायतामा पनि ध्यान दिनुपर्ने उल्लेख छ। त्यस्तै. तालिमका लागि जाँदाआउँदा प्रयोग हुने यातायात र खेलाडी र सम्बन्धितहरुलाई कोरोना सम्बन्धी शिक्षा र सचेतना बारे उल्लेख छ।

के छ क्यानको तयारी?

विदेशमा दर्शकबिहिन मैदानमा क्रिकेट सुरु हुँदा नेपाली क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल लगायतले कीर्तिपुरस्थित क्रिकेट मैदानमा गएर व्यक्तिगत सानो समूहमा अभ्यास गरिरहेका छन्।

क्रिकेट एशोसिएशन अफ नेपाल क्यान भने सरकारको निर्देशन कुरिरहेको छ।

'खेलकुद परिषद, मन्त्रालयले कुन किसिमको निर्देशन दिन्छन् त्यसरी नै अघि जाने हो।' क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने।

अहिले पनि खेलाडीहरुले ४ जना/ ५ जनाको समूह बनाएर अभ्यास गरिरहेको उनले बताए। सरकारले निर्देशन नआइ पूर्ण अभ्यास सुरु नगराउने चन्दको भनाइ छ।

अभ्यासको सन्दर्भमा अहिले अधिकांश खेलाडी काठमाडौं केन्द्रीत भएकाले सानोसानो समूह बनाएर अभ्यास गरिरहेको उनले बताए।

सरकारले खेलकुद कसरी सुरु गर्ने भन्ने निर्देशनको पर्खाइमा क्यान देखिन्छ।

त्यस्तै खेलाडी कन्ट्राक्ट लगायतका विषयहरु समितिमार्फत बहस अघि बढाइए पनि अझै बोर्डमा सिफारिस आइनसकेको क्यानका सचिव तथा प्रवक्ता अशोकनाथ प्याकुरेल बताउँछन्।

'क्लोज क्याम्प गराउन चाहीँ गाह्रो होला। क्लोजक्याम्प गराउन चाहीँ होटेलमा एकसाथ राख्ने कुरा नै कठीन भएको छ अहिले। ट्रेनिङको पार्ट चाहीँ सुरु हुन्छ।' सचिव प्याकुरेलले भने।

के भन्छन् अरु संघ?

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्चनरमण शर्मा अहिलेको अवस्था हेर्दा केही निर्णय गर्न सकिहाल्ने अवस्था नभएको बताउँछन्। भलिबल संघका पदाधिकारी बीच खेल प्रशिक्षण सुरु गराउने बारेमा छलफल भएको भए पनि संघले जोखिम लिन नचाहेको र अहिले खेलाडीलाई मैदानमा बोलाउने अवस्था नरहेको शर्माले बताए।

'अहिलेको कोरोनाको अवस्थाबारे तपाई, हामी, खेलाडी सबै जानकार छौं। कसैले हिसाब नै गर्न नसक्ने अवस्था भएकाले हामी अन्योलमै छौ,' उनले भने, 'अस्ति पनि हामी पदाधिकारी बसेर कसरी खेल चलयमान बनाउँने भनेर छलफल गर्यौं । तर जोखिम छ। स्वास्थ्यमा धेरै जोखिम लिएर विपत्ती बोलाउन हामी चाहँदैनौ।'

भलिबल संघ स्वस्थ्यलाई लिएर संवेदनशील देखिँदा लकडाउन अन्त्य भएपनि तत्काल भलिबल खेलको अभ्यास सुरु हुने छाँट देखिँदैन।

यद्यपि, सरकारले भदौ १ गतेबाट खेत गतिविधि संचालन गर्न अनुमति दिएसँगै खेल क्षेत्रले विस्तारै गति लिन सक्ने सरोकारवालाहरुले बताएका छन्। त्यसका लागि सरकारले कार्यविधि बनाएर लागू गर्न सके र खेलाडीहरुको मनोबल बढाउने कार्यक्रम ल्याउन सके राम्रो हुने उनीहरुको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell