PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

समुदायमा संक्रमण पत्ता नलाग्दै लकडाउन खुल्यो, घातक हुनसक्छ : डा प्रकाश घिमिरे



प्रकाश भण्डारी

समुदायमा संक्रमण पत्ता नलाग्दै लकडाउन खुल्यो, घातक हुनसक्छ : डा प्रकाश घिमिरे

काठमाडौं : चार महिना लामो लकडाउन सरकारले बुधवारबाट हटायो। दोस्रो कोभिड - १९ संक्रमित भेटिएको सार्वजनिक गरेकै रातिदेखि लकडाउन गरिएकोमा संक्रमित १८ हजार पुग्न लागेको बेला हट्यो। मृत्युको संख्या पनि बढिरहेकै छ, तर मृत्युदर एक प्रतिशत मुनि नै छ।

लकडाउन गरेर संक्रमणलाई पार लगाउन चुस्त तयारी गर्नुपर्ने भए पनि ४ महिनासम्म पनि सरकारको ध्यान त्यतातिर गएन। बिना तयारी गरिएको लकडाउन बिना तयारी नै हटाइएको भन्दै विज्ञहरुले झनै संक्रमणको चुनौति बढेको बताउन थालेका छन्। नेपालमा चार महिना लामो लकडाउन कस्तो रह्यो? लकडाउन खोलिएपछि संक्रमणले जोखिम निम्ताउन सक्छ? लगायतका प्रश्न हामीले माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरेलाई सोधेका छौं।

चार महिना लामो लकडाउन हटेको छ, यो अवधि कस्तो रह्यो संक्रमणका हिसाबले?

औषधि र खोप नहुदाखेरि रोग नियन्त्रणको एउटा माध्यम लकडाउन हो। जसले गर्दा भाइरसको संक्रमण रोकिन्छ। लकडाउन भयो, लकडाउनछि गर्नुपर्ने कामहरु-केस आइडेन्टिफिकेसन, आइसोलेसन र क्वारेन्टाइनमा राख्ने काम प्रभावकारी भएको छ भने संक्रमण समुदायमा गएको हुँदैन। यस्तोमा लकडाउन खोल्दा त्यस्तो ठूलो असर पर्दैन। तर जुन समुदायमा संक्रमण छ कि छैन भन्ने थाह छैन भने त्यहाँ संक्रमितले अरुलाई सार्ने सम्भावना रहिरहन्छ। त्यसकारण यस्तो बेला केस बढ्यो भनेर आत्तिने होइन। केस दिन प्रतिदिन निगरानी हुनुपर्‍यो। धेरै संक्रमित बढे र मृत्युदर बढ्यो भने निश्चित ठाउँमा फेरि लकडाउन गर्नुपर्ने हुन्छ। संसारभरको उदाहरण पनि यही छ। कोरिया, जर्मनी, चाइना लगायतका देशमा पनि फेरि लकडाउन गर्नुपरेको थियो। सधैं लकडाउन समस्याको समाधान त होइन, एउटा समयमा गएर खोल्नै पर्छ। खोल्दा डब्लुएचोले ६ वटा मापदण्ड पूरा गरेर खोल्न भनेको छ। त्यसमध्ये पनि समुदायमा संक्रमण हुनुभएन अनि हस्पिटलरुको संख्या बिरामीलाई उपचार गर्न सक्ने क्षमता राम्रो हुनुपर्‍यो।

कोभिड १९ भाइरसको संक्रमण समुदायसम्म फैलिएको छ कि छैन त?

सरकारले संक्रमण सम्बन्धी सूचनाहरु डे टु डे अपडेट गर्नुपर्छ। अहिलेसम्म पाएको सूचनाका आधारमा उहाँहरुले समुदायमा संक्रमण गएको छ या छैन भन्न सक्नु भएको छैन। केही अस्पतालहरुमा कहीँ कन्ट्याक्ट नभएका मानिसमा पनि संक्रमण देखियो भन्ने आएको छ। तर, त्यो भन्दैमा यो गाउँमा त सबैलाई भएको छ। अथवा यो वडा अर्थात् यो घरमा त सबैलाई भएको छ भन्ने खालको कही देखिएको छैन। त्यसकारण सरकारलाई मेरो अनुरोध के छ भने सर्भिलेन्स एकदम स्ट्रङ बनाउँ। कुनै समुदायमा संक्रमण छ भने त्यहाँ छुट्टै हिसाबले ट्रिटमेन्ट गर्नुपर्‍यो, छैन भने नर्मलमा फर्काउनुपर्‍यो। अहिलको तथ्यांकले समुदायमा संक्रमण ठ्याक्कै छ या छैन भन्न सकिँदैन। यदाकदा अस्पतालमा के देखिन्छ भने कट्याक्ट नभएको बिरामी आउनुहुन्छ र उहाँहरु पोजेटिभ देखिनुहुन्छ। अब कतै किड्नीका बिरामीलाई, कतै मुटु लगायतका दीर्घ रोगीलाई देखिएको भएर हामीकहाँ कम्युनिटीमा संक्रमण छ कि भन्ने लागेको छ। तर, यो शंका निवारण गर्न सरकारले यो मानिस यसरी आएको हो समुदायमा संक्रमण छैन भन्नुपर्छ। उहाँहरुले प्रमाणसहित पेश गर्दा समुदायमा डर फैलिँदैन। किनभने लकडाउन खुलेपछि संक्रमण संख्या बढ्न सक्छ।

त्यसकारण लकडाउन खोल्दा कार्यस्थलको सेफ्टी कस्तो छ? हेर्नुपर्छ। लकडाउन खोलेपछि पहिलाको जस्तो होइन यो न्यु नर्मल हो। यसमा मानिसहरुले आफ्नो बानी सुधार्नुपर्‍यो। जसको कारणले हामीमा भएको रोग अरुमा सार्दैनौं र अरुमा भएको हामी लिदौंनौ भन्ने हिसाबले तयार रहनुपर्‍यो। यो सबै कुराको तयारी छ भने लकडाउन खोल्दा सामान्य हुँदै जान्छ। यदि मैले भनेका कामहरु भएका छैनन् भने स्थिति त खराब हुन्छ नै।

समुदायमा संक्रमण पत्ता नलगाएर लकडाउन खोल्ने निर्णय घातक हुन्छ भन्न खोज्नुभएको हो?

लकडाउन सधैं गर्न सक्ने अवस्था होइन। लकडाउन खोल्दा पुर्‍याउ नुपर्ने बेसिक रिक्वायरमेन्टहरु जस्तै अस्पतालको क्षमता, जनशक्तिको ब्यवस्थापन र मान्छेलाई अस्पतालसम्म जानसक्ने अवस्थाको सिर्जन र स्वास्थ्यकर्मीलाई काम गर्ने ठाँउमा सुरक्षाको व्यवस्था गर्न सकियो भने लकडाउन गरेको परिणाम राम्रै हुन्छ। सही समयमै खोलेको हो भनेर बुझ्नु पनि पर्छ तर यो सबै काम बिनै लकडाउन खोलेको हो भने घातक हुन सक्छ। लकडाउन खोलेर कडा निगरानी भएन भने त खोल्ने निर्णय घातक हुन्छ।

त्यसो भए तयारी गरेर लकडाउन खोलेको रहेछ या बिना तयारी?

लकडाउनका बेला एउटा ल्याबबाट २५ ल्याब बने। यसलाई राम्रै मान्नुपर्छ। तर, दुई वर्ष ५ वर्ष पढेर डिटेक्सन गर्नुपर्ने, त्यसो गरेको भए परीक्षणमा क्वालिटी हुन सक्थ्यो। त्यसो नभइकन दुई तीन घण्टाको ट्रेनिङको भरमा चलाएको भएर सबै ल्याबहरुले राम्ररी काम गर्न सकेको छैन। यो चाहिँ कमजोरी हो। यसलाई इम्प्रुभ गर्नुपर्छ। हाम्रा विश्वविद्यालयमा दक्ष जनशक्ति छन्। हाम्रा ट्रेन मानिसहरुलाई देशभरी ल्याबमा पठाउनुपर्‍यो। आज कोरोना आयो। भोलि अर्को कुनै रोग आउला। त्यसकारण सधैंभरी ल्याबहरुलाई चलाउनुपर्‍यो। अहिले भएका ल्याब कुनै दिन पनि बन्द गर्नु हुँदैन। सस्टेनेबल हुनुपर्‍यो। त्यसतर्फ सरकारको कमजोरी देखिन्छ। लकडाउनको अवधिमा केस ट्र्याकिङ, ट्रेसिङ भएका छन्। नभएका होइन। जस्तो उदयपुरमा भयो। बाँकेमा भयो। त्यहाँ भएकै छ। नभएको होइन। भए पनि अरु ठाँउमा जुन देखिएको छ। त्यहाँ अझै इफेक्टिभ गर्नुपर्ने छ।

अहिले पनि निगरनी त भइरहेकै छ। खास के गर्नुपर्‍यो?

मैले भइरहेको छैन भनेको छैन। तर, हाम्रा ओपन बोडर छन्। त्यहाँबाट आउने मानिसमध्ये संक्रमितलाई एकातिर र संक्रमण नभएकालाई अर्कोतिर राख्नुपर्‍यो। हरेक वडा, टोल तथा गाँउसम्मै को मान्छे संक्रमित छ को छैन छुट्याउनुपर्‍यो। सबैको तथ्यांकको आधारमा सर्भिलेन्स गर्नुपर्‍यो। सरकारले गर्न सक्छ। त्यसका लागि संयन्त्र पनि नभएको होइन। अहिले के भइरहेको छ भने सुरक्षाकर्मी अघिअघि र स्वास्थ्य तथा जाँच पछिपछि भएको छ। तर हुनुपर्ने के हो भने पहिला स्वास्थ्यकर्मी त्यसपछि सुरक्षा हो। त्यसो भए तथ्यका आधारमा निगरानी गर्न सकिन्छ। ४ महिना लकडाउन भयो अब केही हुन्न भनेर भन्यो भने अवस्था बिग्रन सक्छ। यो नर्मल अवस्था नै होइन, यो त न्यु नर्मल हो नि। खोप विकास नभएसम्म सामाजिक दुरी, रेस्परेट्री हाइजिनलगातमा ध्यान दिनुपर्‍यो।

संक्रमणबाट जोगिन सचेतनाको लेबल कत्तिको पाउनुभयो त, पहिला भन्दा?

मान्छेमा सचेतनाको लेबल बढेको छ। सचेत भएरै संक्रमण अलिकति नियन्त्रणमा आएको हो। लकडाउनले मात्रै कहाँ अहिलेको अवस्थामा पुगिएको हो र? तर, सबैसँग सचेतनको लेबल एउटै छैन। गाडी चढ्दा कुन सेफ्टी मेजर प्रयोग गर्ने, अस्पतालमा कुन विधि अपनाउने, स्कुल कलेजमा कस्ता सुरक्षाका उपाए अपनाउने ती फरक हुन्छन्। बैंकमा पनि फरकै होला। प्रोटोकल फलो गर्‍यो भने लकडाउन गर्नै पर्छ भन्ने होइन। होटल खोल्नै हुन्न भन्ने होइन। त्यहाँ हामीले मापदण्ड पालन गर्न सक्छौं? भन्ने प्रश्न हो। होटलमा खान गएको मान्छेले टाँसिएरै खानुपर्छ कि डेढ दुई मिटर टाढा बस्ने त्यो त हुनुपर्‍यो नि। पछिल्लो अध्ययनले कोठाभित्र राम्रो एअर कण्डिसन भएन भने संक्रमण सर्नसक्ने भन्ने देखाएको छ। त्यसैले श्वासप्रस्वास तथा शुद्ध हावाको कतिको ब्यवस्थापन छ, बन्द कोठामा के गर्ने? खुला कोठामा कसरी बस्ने लगायतमा पनि सरकारले प्रोटोकल बनाउनु पर्‍यो। बनाएर फेरि अनलाइनमा राखेर मात्रै भएन। सम्बन्धित निकायले अनिवार्य पालन गर्ने खालको ब्यवस्था हुनुपर्‍यो। मान्छे कोही पनि मर्न चाहँदैन, त्यसैले उसलाई थाहा दिनुपर्‍यो।

पहिलो संक्रमित देखिए यता हालसम्म सरकारले संक्रमण रोक्ने कहाँ - कहाँ चुक्यो?

सरसर्ती हेर्दा विकासशील देशमा त्यसमध्ये हाम्रोमा पनि कमी कमजोरी भएकै हुन्। जहाँजहाँ सरकारले वैज्ञानिक तथ्य र प्रमाणका आधारमा काम गर्न हिचकिचाहट गरेको छ त्यो ठाउँमा कमजोरी भएका छन्। जहाँ वैज्ञानिक प्रमाणका आधारमा काम भएको छ, त्यहाँ संक्रमण रोक्न सरकार तथा राज्य चिप्लिएको छैन। लकडाउन जसरी खोलियो अब सरकारको संयन्त्र इमिडियट सर्भिलियन्समा लाग्नुपर्‍यो। सर्भिलियन्समा सरकार एकदमै स्ट्रङ हुनुपर्छ। लकडाउन यता यसमा सरकार अलि कमजोर देखिएको छ। संयन्त्र भए पनि काम गर्ने तौरतरिका मिलेन। अस्पतालमा सिरियस बिरामीको उपचार गर्न सरकारले जुन हिसाबले तयारी गर्छ भन्ने सोचेका थियौं, लकडाउनकै बेला पनि सिरियस बिरामीको अस्पतालमा उपचार जति सिरियसली हुनुपर्ने हो त्यो भएन। अर्कोतिर प्रयोगशाला खोलेर भएन। चलाउने दक्ष जनशक्ति पनि त चाहियो। कति ठाउँमा उपकरणले काम गरेन। रियजेन्ट मिलेन भनेर खबर आइरहेकै छन्। प्रयोगशालमा एकेडेमिक ट्रेन मान्छे हुनु जरुरी छ। जसले रिजल्ट इन्टरपिटेसन गर्न सकोस्। यस्तो खालको मान्छे नराखेर त्यसको रिजल्ट त्यति राम्रो हुँदैन। दोस्रो, सर्भिलेन्स र रेस्पोन्स एकदमै राम्रो चाहियो। डाटा फर एक्सन हुनुपर्छ। आज दिनभरी के डाटा आयो त्यस आधारले एक्सनमा जानुपर्छ। इमिडियटली काम गर्नुपर्ने अहिले यही हो।

प्रधानमन्त्रीले नै विज्ञहरुलाई चुनौती दिनुभयो। तपाईँको विचारमा उहाँले किन यसरी चुनौती दिइरहनु भएको हो?

यसमा मेरो प्रष्ट धारणा छ। कुनै व्यक्ति ठूलो पदमा पुग्दैमा सर्वज्ञानि हुँदैन। प्रधानमन्त्रीको सल्लाहकारको समूह जुन छ त्यसले समयमै राम्रो खालको सल्लाह दिनुपर्छ। सचेत गराउनुपर्छ र विज्ञानमा आधारित सूचना दिनुपर्छ। मलाई त प्रधानमनन्त्रीले बोलेका कुरामा उहाँको आफ्नो भन्दा पनि सल्लाकारको कमजोरी जस्तो लाग्छ। सल्लाहकारको टोलीमा विषय विज्ञहरु हुनुपर्छ। छैन भने राख्नुपर्‍यो। विषय विज्ञले तथ्यका आधारमा दिएका सूचनालाई मात्रै आधिकारिक मानेर बोलेमा यस्तो विवादमा प्रधानमन्त्रीले पर्नु पर्दैन।

प्रधानमन्त्रीले त नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्नुभयो नि?

यसमा दुईवटा अध्ययन भएका छन्, नेपालमा होइन। एउटा क्यानडामा पब्लिस भएको अध्ययनको निष्कर्षले ३ हजार मिटरभन्दा माथि बस्नेहरुमा यसको संक्रमण कम हुन्छ भनेको छ। यसका तमाम लिमिटेसन छन्। अर्को जर्मनीबाट अध्ययन भयो। बीसीजी लगाएकामा यसको संक्रमण कम देखिएको छ भन्ने। यसमा पनि सेकेण्डरी डाटा प्रयोग गरिएको छ। यही डाटा हेरेर एसियामा बीसीजी भ्याक्सिन लगाइन्छ। यहाँ चाही बढी मान्छेलाई केही भएन। युरोप अमेरिकामा धेरै मानिस मरे भनेर अध्ययनले भन्यो। तर, अब यसले के देखाउँछ भने यदि हामी जबसम्म यो पपुलेसनको इम्युन डाइरेक्टली मेजर गर्दैनौं, तबसम्म इम्युनिटी पावर राम्रो छ भन्न सक्दैनौं। अर्थात् नेपालीकै अध्ययन हुनुपर्‍यो। अहिलेको अवस्थामै हुनुपर्‍यो र कोरोनाकै सन्दर्भमा गर्नुपर्‍यो। नत्र नेपाली बहादुर, हिमाल चढ्ने शेर्पा भनेर कोरोना नलाग्ने भन्ने झुटा हो।

कोरोनाले अब हुने खतरा के हुन्?

पहिले बुझ्नुपर्ने के हो भने लकडाउन खोलेर हामी सामान्य अवस्थामा जादै छैनौं। यो न्यु नर्मल हो। न्यु नर्मलमा संक्रमणको सम्भावना उतिकै रहिरहँदा हामीले ब्यक्तिगत रुपमा अवलम्बन गर्नुपर्‍यो। अब दीर्घ रोगीहरुलाई संक्रमण भएर सिरियस केसहरु बढन सक्छन्। उपचारका लागि राम्रो ब्यवस्था भएन अर्थात् रेस्पिरेट्री सिस्टमको राम्रो ब्यवस्था भएन भने मर्नेको संख्या बढ्न सक्छ। अब हुने खतरा भनेको मृत्यु बढ्नु हो। त्यसैले यसमा ध्यान दिनै पर्छ। यो सबै गर्नका लागि उपकरण मात्रै भएर हुँदैन, ट्रेन मान्छे राख्नुपर्‍यो।

अहिलेसम्म क्रिटिकल संक्रमितहरु नै थोरै देखिए, मृत्युदर पनि थोरै छ। के कारणले हो यस्तो भएको?

आँकडाले के देखाउँछ भने ४० जना संक्रमितमा ५/६ जना मात्रै दीर्घ रोगीमा संक्रमण देखिएको छ। संसारभरि पनि के देखिन्छ भने ८० देखि ८५ प्रतिशत असिम्टोम्याटिक अर्थात् लक्षण नदेखिएरै संक्रमण हुन्छ। अझ प्रष्ट भन्नुपर्दा संक्रमण हुन्छ तर सिरियस लक्षण बाहिर देखिँदैन। ज्वरो आउने, जीउ दुख्ने लगाएतका लक्षण धेरै देखिएको छ। नेपालमा संक्रमित मान्छेहरु धेरैजसो बाहिर देशबाट आएका छन्। बाहिरबाट आएका मानिसहरु आफ्ना हात पाखुरा बजाएर खान सक्ने हुन्। अर्थात युवाहरु हुन्। उनीहरुमा संक्रमण देखिएकोले मृत्युदर र सिरियस संक्रमण नदेखिएको हो। जसको मृत्यु भएको छ उसका बारेमा अध्ययन भएर अहिलेसम्म बाहिर आइसकेको छैन। अन्डरलाइन कण्डिसन भएका बिरामीमा मृत्युदर बढ्ने हो। नर्मल मान्छेमा मृत्युदर बढ्ने होइन। यसले गर्दा नेपालीमा छैन भन्ने होइन। हाम्रो नर्मल आयु पनि ७० वर्ष हो। बाहिरको हेर्ने हो भने नर्मल आयुमा मृत्युदर त्यति धेरै छैन। इन्फ्लुयन्जामा पनि अण्डरलाइन कण्डिसन भएकामा ५ प्रतिशतसम्म मृत्युदर छ। जबकि कोरोनामा २ देखि ३ प्रतिशतको बीचमा भनेको छ। नेपालको हेर्दा अहिलेसम्म एक भन्दा मुनि नै छ। तर यदि यो समुदायमा र दीर्घ रोगिमा गयो भने यो प्रतिशत बढ्दै जान्छ।

सरकारको कमजोर तयारी देखि नै सक्यो। यदि समुदायमा संक्रमण फैलिएको रहेछ भने नेपालको हाल अब के हुन्छ?

समुदायमा फैलियो भने त्यो समुदायका अधिकांश मानिसमा त्यो रोग देखिन्छ। त्यसमध्येका पनि दीर्घ रोगी सिरियस कण्डिसनमा जान्छन्। जसको कारणले अस्पतालका सैय्यामा बिरामी खचाखच भरिन्छन्। अरु रोगका बिरामीले ठाउँ पाउँदैनन् र उपचार नपाएर कोरोना नलागेकै मानिसहरुको पनि मर्न संख्या बढ्छ। कोरोनाका मात्रै बिरामी धेरै भएपछि अस्पतालमा स्वास्थ्यकर्मी र चिकित्सकको ब्यापक अभाव खड्किन्छ। किनभने यसमा इमिडियट इन्टरभेन्सन गर्नुपर्ने हुन्छ। समुदायमा संक्रमण फैलिएर दीर्घरोगीलाई संक्रमण फैलिएमा अस्पतालले थेग्न सक्दैनन्। थेग्न सकेन भने त हुने भनेको मृत्यु नै हो। त्यस बेला मृत्युदर रातारात बढ्छ। त्यो कसैको पनि नियन्त्रणमा नरहन सक्छ। त्यो भनेकै भयाभहको स्थिति हो। त्यसो नहोस् भन्नकै लागि जनस्वास्थ्यमा लकडाउन, क्वारेन्टाइन तथा आइसोलेशनको ब्यवस्था गरिएको हो।

सरकारले बनाएको निर्देशिकामा विदेशबाट आएकाले आफ्नै घरमा १४ दिन क्वारेन्टाइन बस्न सक्ने भनेको छ। घरमै क्वारेन्टाइन र आइसोलेसन बस्ने ब्यवस्थाको राम्रोसँग पालना भएन भने त स्थिति त भयाभह होला नि?

सरकारले बनाएका आइसोलेसन र क्वारेन्टाइन अधिकांश मापदण्ड पूरा गरिएका छैनन्। त्यसले त्यहाँ बस्नभन्दा घरमा ठिक भनेर यस्तो ब्यवस्था गरिएको जस्तो लाग्छ। संक्रमति हुँदैमा अस्पताल नै जानुपर्छ भन्ने छैन्, साइन एण्ड सिमटम छैन भने। तर, घरमा बस्दा कसरी बस्छ? नियमहरु पालना गर्छ कि गर्दैन? यसले अर्थ राख्छ। यसमा हेलचक्राइ भएमा एकै जनाले पनि समुदायसम्म संक्रमण फैलाइदिन सक्छ। त्यो खतरा त छ नै। अहिलेसम्मको अध्यनले के भनेको छ भने संक्रमित मानिस पनि २ देखि ३ हप्तासम्म अलग्गै बसे र लक्षण केही देखिएन भने त्यसले अरुलाई सार्न सक्दैन। त्यसैले घरमा बस्न सक्छ भनिएको हो।

अब अन्तमा, खोप विकासका विषयमा पनि तपाईँ जानकार हुनुहुन्छ। खोप लगाएर अब संक्रमित भइँदैन भनेर ढुक्क कहिले हुन पाइएला?

अहिलेसम्म १ सय ८६ खोपहरु प्रोब्याबल क्यान्डिडेटका रुपमा काम भइरहेको छ। त्यसमध्ये करिब १२ देखि १५ वटा एजेन्ट ह्युमन ट्रायलमा गएका छन्। यसमा पनि तीनवटा चरण छन्। क्लिनिकल, प्रि क्लिनिकल लगायतका काम नगरिकन लाइसेन्स पाउँदैन। भनेको खोप प्रभावकारी हुनुपर्‍यो र सुरक्षति हुनुपर्‍यो। फेज एक र दुई भनेको सुरक्षित छ कि छैन भन्ने पत्ता लगाउने हो। पहिलो फेजमा काम भइरहको छ। केही भ्याक्सिन दुईमा छन् भने केही फेज थ्रीमा जाने तयारीमा छन्। जस्तो इन्फ्लुयन्जा भ्याक्सिन हरेक वर्ष नयाँ लगाउनुपर्छ। त्यसैले यो भ्याक्सिन कति डोज लगाउने, कति समयमा लगाउने या त एकपटक लगाएमा जीवनभर लगाउन नपर्ने हो कि? यसबारेको अनुसन्धान पूरा भइसकेको छैन। त्यसलै अहिले नै यही दिन, यही बार आउँछ भन्न सकिने अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell