काठमाडौँ: आजभन्दा करीब २२ वर्षअघि २०५५ सालमा नक्सा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नम्बर ३ को शनिवार बाँसबारीमा आज इको पार्कको शिलान्यास गरेका छन्। बजेट अभाव हुन नदिने भन्दै प्रमुख शाक्यले पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरे। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानरपालिकाको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन्।
काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ को संगमा रहेको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए। पहिलो चरणमा उत्तर तर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको उनको भनाई छ। बाँकी दोश्रो चरणको काम सम्पन्न गर्न महानगरपालिकाले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको अध्यक्ष केसीले बताए।
दोस्रो चरणको योजनामा किरिया पुत्री भवन र पार्क निर्माण गरिने छ। ‘पहिलो चरणको काम २०७७ मंसिर मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ केसीले भने, ‘दोस्रो चरणको काम पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ। ‘डोल परेको र भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ,’ डिजाइन टिमकी इञ्जिनियर निलिमा थापा श्रेष्ठले भनिन्, ‘पहिलो पटक म त्यहाँ पुग्ने वित्तिकै चराहरुको चिरविरचिर आवाज, वातावरण र पर्यावरणले मन आनन्दित भयो। त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इको पार्क राखेका हौँ।’
पार्कलाई हरियाली मैत्री बनाउन त्यहाँका रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारेको उनले जानकारी दिइन्।
चुनदेवी सहयोगी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद आचार्यले २२ वर्षको अथक प्रयासपछि सपना पूरा हुने चरणमा रहेको भन्दै खुसी व्यक्त गरे। आचार्यले परापूर्व कालदेखि आफ्ना पुर्खाले यही ठाउँमा ढिकुरो उठाउँदै आएको स्मरण गराए। ‘यहाँ पानीको मुहान छ। काउलो, उत्तिसका रुख र निगालो–बाँस घारीहरु पहिलादेखि छ,’ उनले भने, ‘यी सबैको संरक्षण गर्दै वातावरण र पर्यावरण जोगाउँदै पार्क निर्माण प्रक्रिया अघि बढाएका हौँ।’
यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगा स्थल र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ। पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ। बालबालिकाहरुलाई खेल्न मिल्ने उद्यान समेत यहाँ रहने छ।
