काठमाडौं: ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ। धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ। यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ। श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वय् वज्रयानी परम्परा अनुसार यो पूजा भएको हो।
पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर बसेका थिए।
धलिं पूजा सम्पन्नपछि संक्षिप्त कुराकानी गर्दै मेयर शाक्यले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्दै निर्माण/पुनर्निर्माणको काम तिव्र गतिका साथ अघि बढाउने बताए। काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनका लागि बजेट उल्लेख्य मात्रमा बजेट विनियोज गर्दै आएको उनले बताए। आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० बढी शीर्षकमा संम्पदाको संरक्षण र पुनर्निर्माणका लागि महानगरले बजेट बिनियोजन गरेको छ।
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डप पुनर्निर्माणको करीब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। २०७५ वैशाखबाट पुनर्निर्माणको सुरु भएको थियो। शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे। लकडाउनका बेला पनि कामलाई निरन्तरता दिएको शाक्यको भनाई छ। ‘अब दोस्रो तलाको मुख्य दलिन उठाउन र तेस्रो तला बनाउन बाँकी छ,’ उनले भने, ‘हामी समयमै पुनर्निर्माण सम्पन्न गरेर नयाँ सन्देश दिन चाहन्छौँ।’
उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनर्निर्माण गरिरहेको जानकारी दिए। ‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘जुन इटा, माटो प्रयोग भएको थियो। हामीले त्यही प्रयोग गरेका छौँ। केही सवलीकरण पनि गरेका छौँ।’
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ। प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो।
