PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नक्कली नोटको धन्दाः कारमा आए, नक्कली नोट दिएर मोबाइल लिएर गए



पहिलोपोस्ट

नक्कली नोटको धन्दाः कारमा आए, नक्कली नोट दिएर मोबाइल लिएर गए

काठमाडौं : काठमाडौंको हलचोक नजिकै एउटा गाडी रोकियो। गाडीमा २२ वर्षीय युवक थिए। अर्का युवक हातमा मोबाइल बोकेर त्यही ठाउँमा पुगिसकेका थिए। गाडीमा आएका युवकले आफ्नो साथमा ल्याएको २२ हजार ५ सय रुपैयाँ गाडीभित्रबाट नै अर्को युवकको हातमा थमाए।

युवकले पैसा गन्दा २२ हजार ५ सय रुपैयाँ नै थियो। पैसाको बदलामा उनले साथमा ल्याएको मोबाइल गाडीमा आएका युवकको हातमा थमाए। गाडी लिएर युवक आफ्नो गन्तव्यतिर लागे। तर पैसा पाएपछि फेरि गन्दा मोबाइल बिक्री गर्ने युवकलाई भने शंका लाग्यो - पैसा कम भएर होइन, नक्कली हो कि भनेर।

मोबाइल बिक्री गरेको युवक र उनीबिच पहिले कुनै चिनजान थिए। युवकले आफ्नो मोबाइल अनलाइन साइटमा बिक्रीको लागि राखेका थिए। त्यही अनलाइनमा देखेर युवक गाडी लिएर मोबाइल किन्न पुगेका थिए। मोबाइल खरिदकर्ता थिए नेपालगंज उपमहानगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय प्रशान्त सिंह ठकुरी।

प्रहरीले नोटको अनुसन्धान गर्‍यो । अन्ततः २२ हजार ५ सयमध्ये १९ हजार नक्कली देखियो। १ हजार दरका १९ वटा नोट नक्कली देखिएको हो। 'हामीले चेक गर्दा १९ वटा हजारको नोट नक्कली पाइएको थियो। त्यसपछि ती युवकको खोजी गर्न थाल्यो।' महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरञ्जन भट्टले भने।

प्रहरीले युवकले चलाएको गाडी र अन्य माध्यमबाट खोजी गर्‍यो। पाँच दिनपछि उनी पक्राउ परे। उनी बिबिएस अध्यनरत विद्यार्थी हुन्। घर परिवारको आर्थिक अवस्था पनि राम्रो देखिन्छ। तर उनको अपराधको कर्म भने डरलाग्दो। युवकले पैसा आवश्यक परेकाले नक्कली नोटको कारोबारमा लगेको प्रारम्भिक बयान दिएका छन्।

युवकले कलर प्रिन्टर प्रयोग गरेर नक्कली नोट छाप्ने गरेको बयान दिएका छन्। 'प्रिन्टरबाट छापेको बताएका छन्। हामीले प्रिन्टरसमेत बरामद गरेका छौँ। त्यही प्रिन्टरबाट मात्र हो वा अरू केही छ खोज्दै छौँ,' डिएसपी भट्टले भने।                                                              प्रहरीले बरामद गरेको नक्कली नोट

युवकले नक्कली नोट योजना कसरी बनाए? यसमा अरू पनि संलग्न छन् कि छैन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  बजारमा अरू पनि नक्कली नोट उनले पुर्‍याए कि? लगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। तर युवकले भने यो पहिलोपटक भएको बयान दिएका छन्। 'उसको कुरामात्र पत्याएर भएन। हामी यस विषयमा अनुसन्धान गरिरहेका छौँ,' डिएसपी भट्टले भने।

प्रहरीले नक्कली नोटको केसमा मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलनअनुसारको कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्ने गर्छ। अदालतमा दोषी प्रमाणित भए ऐनअनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ।

एक साताअघि लागू औषध नियन्त्रण ब्युरोको टोलीले बाराको महागढीमाई नगरपालिका २ बरियापुरबाट तीन जनालाई १५ लाख ४४ हजार ४ सय नक्कली नोटसहित पक्राउ गरेको थियो। लागू औषधिको कारोबारी खोज्ने क्रममा ब्युरोको टोलीले नक्कली नोटसहित भारत मोतिहारी घर भएका सुधिर कुमारकुशवाह, बाराका नरेन्द्र प्रसाद कुशवाह र मनोज तेलीलाई नियन्त्रणमा लिएको थियो।

यही अवधिमा झापामा पनि ७५ हजार रुपैयाँ बराबरको भारतीय नक्कली नोट प्रहरीले फेला पारेको छ। पाँच सयका भारु नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। एक जना सुन व्यवसायी मौसम श्रेष्ठसमेत थिए।

यसरी एक साताको घटना हेर्दा देशमा नक्कली नोटको बिगबिगी बढेको देखिन्छ। चाडपर्व नजिकिदैं गर्दा कोरोबारी समूहहरु झनै संक्रिय हुने गरेका छन्। आर्थिक कारोबार बढी हुने, रेष्टुरेन्ट तथा पसल, ठगीका गतिविधिमा नक्कली नोटको बढी प्रयोग हुने गरेको पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell