काठमाडौः साउन ७ गते अन्वेषण चन्दले सानिमा बैकबाट एक लाख रुपैयाँ निकाले। बैकबाट निकालेको पैसा आफैले कुदाएर ल्याएको स्कुटरको डिकीमा राखे। त्यसपछि लागे नयाँ बानेश्वरको आन्तरिक राजस्व कार्यालयतिर। केही समयमा आफ्नो काम सकाए। त्यसपछि उनी त्यहाँबाट निस्किए।
अफिसमा पुगेर स्कुटरको डिकी खोलेर पैसा झिक्न खोजे तर पैसा थिएन। त्यसपछि सिधै प्रहरी कहाँ पुगेर उजुरी दिए। उनको स्कुटरको डिकी सकुशल नै थियो। कुनै तोडफोड गरिएको थिएन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्यो। अन्ततः उनको पैसा चोरी भएको निष्कर्षमा पुग्यो। चोरको खोजी गर्न थाल्यो।
आइतबार बिहान प्रहरीले स्कुटरबाट चोरी गर्ने मोरङका शोषित कार्कीलाई समाउन सफल भयो।' हामीले पहिलेदेखि नै खोजी गरिरहेका थियौँ। आज गौशालाबाट आउँदै गर्दा मिनभवनबाट नियन्त्रणमा लिएका हौँ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले भने।
पक्राउ परेका युवकको साथबाट प्रहरीले ४२ वटा विभिन्न गाडी तथा मोटरसाइकलको मास्टर चाँबी समेत फेला पारेको छ। कार्कीले चाँबीको प्रयोग गरेर गाडी तथा स्कुटरमा भएको पैसा तथा धनमाल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 'त्यो दिनपनि उहाँले बैकबाट पैसा झिकेर डिकीमा राखेको फलो गरिरहेको रहेछ। मौका मिलेपछि चाँबी प्रयोग गरेर रकम चोरी गरेको देखिन्छ,' डिएसपी बस्नेतले भने।
रकम चोरी भएका युवक भने पूर्वएआइजी रणबहादुर चन्दका छोरा हुन्।
