PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

च्यासलको मैदान निर्माण अन्तिम चरणमा,पाँच प्रतिशत काम बाँकी



पहिलोपोस्ट

च्यासलको मैदान निर्माण अन्तिम चरणमा,पाँच प्रतिशत काम बाँकी

काठमाडौं: ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिले निर्माणको काम धमाधम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्तसम्म सक्ने लक्ष्य भएपनि विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको हो।

उमेर समूहका खेलदेखि दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदैछ। ३० करोड रुपैयाँ लगानीमा निर्माण गर्नका लागिएको मैदानलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ। मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन।

१२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ। डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहे पनि कोरोनाका कारण मंसिर सम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताए। लक डाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो। आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उनले बताए।

२०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्यारापिट बढाइएको छ । पश्चिमतर्फ नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ। बागमती नदिको किनार भएकाले वर्षायाममा बाढी रोक्न पर्खाल बनाइएको छ। अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ। त्यसका लागि राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड रुपैयाँ माग गरेको छ।

निमार्ण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ। त्यसपश्चात एन्फाले एसियाली फुटबल महासंघको आर्थिक सहयोगमा फ्लड लाइट राख्ने सहमति एन्फासँग भएको छ।

ग्रासरुटबाट फुटबल विकासका सहयोग पु¥याउने लक्ष्यका साथ मैदान निमार्णका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सारेका थिए। आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ। साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्लेक्स र रंगशालाको मात्र भर पर्नुपर्ने बाध्य पनि हट्नेछ।  नेपाल न्युज एजेन्सी (नान)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell