PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

शेखरको प्रश्न: वरिष्ठ नेताहरुलाई पार्टीबाट निकाल्ने, बाहिरकालाई भित्र्याउँदा कार्यकर्तामा के सन्देश जान्छ?



पहिलोपोस्ट

शेखरको प्रश्न: वरिष्ठ नेताहरुलाई पार्टीबाट निकाल्ने, बाहिरकालाई भित्र्याउँदा कार्यकर्तामा के सन्देश जान्छ?

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अनुशासन उल्लंघनको आरोपमा नेताहरुमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन्।

पार्टीको केन्द्रीय अनुशासन समितिले गोबिन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्काशन गरेकोमा उनले असन्तुष्टि जनाएका हुन्। नेताहरुलाई मनगढन्ते तर्क गरेर पार्टीबाट निष्काशन गर्नु दुर्भाग्य भएको उनको भनाई छ।

एकातिर अरु पार्टीका नेतालाई कांग्रेसमा प्रवेश गराउने र अर्कोतिर आफ्ना पार्टीमा लामो समय बिताएकालाई निष्काशन गर्ने भन्दै ट्वीटरमार्फत विरोध जनाएका छन्। पार्टीका नेतालाई कारवाही गरेकोमा कार्यकर्तामा गलत सन्देश गएको कोइरालाको तर्क छ।

'एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्काशन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?' उनले ट्वीटरमा प्रश्न गरेका छन्।

नेता कोइरालाले पार्टीमा नेताहरुले दिएको योगदानको अवमूल्यन गरिएको आरोप लगाएका छन्।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्व मन्त्रीसमेत रहेका जोशीसहित ओझा र विष्टलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको हो।

पूर्वमन्त्रीद्वय जोशी र ओझालाई ५/५ वर्षका लागि र नेता विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको थियो।

चुनावमा पार्टीका उम्मेद्वारलाई हराउन भुमिका खेलेको भन्दै कांग्रेसले नेताहरुलाई पार्टीबाट निष्काशन गरेको हो।

अर्कोतिर काग्रेस प्रवेशका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका)का सुनिल थापा लगायतले पार्टीबाट राजीनामा दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell