काठमाडौँः प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
एक हवल्दार र तीन जवानमा कोरोना पुष्टि भएको हो। प्रहरी अस्पतालमा भएको परीक्षणमा संक्रमण देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको छ।
'चार जनालाई कोरोना देखिएको हो। तर थप पुष्टि गर्न टेकु पठाएका छौँ,' एक प्रहरी अधिकृतले भने।
केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएको थियो। तर प्रहरी प्रधान कार्यालयले भने औपचारिक रूपमा कोरोना पुष्टि भएको जानकारी दिएको छैन। 'पीसीआर परीक्षणको लागि पठाइएको हो। तर औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नै दिन्छ,' प्रहरी प्रवक्ता डिआइजी नीरजबहादुर शाहीले भने।
कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब लिइसकेको छ।
अहिलेसम्म देशभर ११५ जना प्रहरी कोरोनाबाट संक्रमित भएका छन्।