काठमाडौः विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरिएको छ। कार्यालयमा रहेका प्रहरीमा कोरोना संक्रमणको जोखिम बढेपछि सिल गरिएको हो।
गत विहीवार १ सय ४६ जना प्रहरीको स्वाब कोरोना परीक्षणको लागि पठाइएको थियो। परीक्षण गरिएकामध्ये केही प्रहरीमा संक्रमण पुष्टि भएको छ। 'केही थप प्रहरीमा कोरोना देखियो भन्ने जानकारी आएको छ। त्यसैले आफैं सजकता अपनाएका हौं,' प्रदेश प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले भने।
यसअघि ५ जना प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा आएका १ सय ४६ जनाको स्वाव परीक्षणको लागि पठाइएको छ। त्यस्तै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा समेत कोरोना पुष्टि भएको छ। उनीहरुसँग सम्पर्कमा आएका अन्य प्रहरीको परीक्षण गरिएको छ। बाँकी प्रहरीको रिपोर्ट भने आइसकेको छैन।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १ सय १५ जना प्रहरी कर्मचारीमा कोरोना देखिएको छ।
