काठमाडौं : बिहे गरेर अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्ने दुई जना युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बाग्लुङ काठे गाँउपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर रोजभिलेज कोलोनी बस्ने २७ वर्षीया कोपिला शर्मा र सोही ठेगाना भएकी १९ वर्षीया अमिसा केसी रहेका छन्। उनीहरुलाई बुटवलबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत ठिमि पठाइएको छ।
उनीहरुले विभिन्न व्यक्तिहरुलाई फेसबुक तथा टिकटकमार्फत युवाहरुलाई फलो गर्ने र आफू अमेरिकाको डीभी परी क्यालिफोर्नियामा बस्दै आएको भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ। बिहे गरेर अमेरिका लैजाने बहानामा ठगी गरेको भन्ने जाहेरी दरखास्तको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ।
उनीहरुले नेपालमा डिपार्टमेन्टल स्टोर संचालन गर्ने पैसाको आवश्यक परेको र पीडितलाई पार्टनर बनाउने भनी पटक-पटक गरी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ।
त्यस्तै, कोपिला शर्माले आफ्नो बुवाको फेक आइडी बनाएर ढुकुटीको पैसा तिर्ने बहानामा ठगी गरेको समेत खुलेको छ। उनीहरुले भक्तपुरका एक जना पीडितका छोरीसँग मितेरी लगाई अमेरिका लैजानै भन्दै एक लाख साठी हजार ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
