PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरमा १९ प्रहरीसहित २२ जनामा 'कोभिड १९' संक्रमण, महानगरभित्र समुदायमा पुगेको निष्कर्ष



अनन्तराज न्यौपाने

विराटनगरमा १९ प्रहरीसहित २२ जनामा 'कोभिड १९' संक्रमण, महानगरभित्र समुदायमा पुगेको निष्कर्ष

विराटनगर : प्रदेश नम्बर १ को प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ प्रहरीमा कोरोना सङ्क्रमण पत्ता लागेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार २ महिला प्रहरी र १७ पुरुष प्रहरीमा कोरोना सङ्क्रमण पाइएको हो।

विराटनगरमा रहेको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले कोरोना सङ्क्रमण पुष्टि भएका प्रहरीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी सुरू गरिएको जानकारी दिए।

यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। दोस्रो चरणको परीक्षणमा १९ जनामा पुष्टि भएको हो। प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब सङ्कलन गरिएको प्रवक्ता पोखरेलले बताए।

सङ्क्रमणमा पर्ने अधिकांश प्रहरी जवान छन्। दुई दिनअघि पुर्वी नाका काँकरभिट्टामा कार्यरत १८ सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको थियो।

सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मात्रै प्रदेश १ मा १९ प्रहरीसहित ३१ जनामा कोरोना सङ्क्रमण पाइएको छ। जसमध्ये विराटनगरका २२ जना हुन्। आइतबार ३१ नयाँ थपिएपछि प्रदेश १ मा ९ सय २२ सङ्क्रमित पुगेका छन्।

स्थानीय प्रशासनले विराटनगरमा समुदायको स्तरमा कोभिड–१९ को सङ्क्रमण फैलिएको जनाएको छ।

‘कोभिड–१९ को सङ्क्रमण विराटनगरमा समुदायमा फैलिसकेको निष्कर्षमा हामी पुगेका छौँ’, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पहिलोपोस्टलाई भने, ‘सोमबारदेखि थप कडाइका कार्यक्रमहरू सुरु गरिनेछ।’

यसैबिच विराटनगर महानगरपालिकाले सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ।

महानगरपालिका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण समुदायका स्तरमा फैलिसकेको निष्कर्ष निकाल्दै महानगरपालिकाले सामाजिक दूरी कायम गराउने निर्णय गरेको हो।

महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदाय स्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यदलको गठन गरेको छ।

प्रमुख पराजुलीले महानगरपालिका कार्यालयमा हुने भिडभाडका कारण सङ्क्रमणको दर उच्च हुनेतर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवाबाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको बताए।

महानगरपालिकाले घरनक्शा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नवीकरण लगायतका काम केही समय पछि गर्न सकिने भन्दै तत्काल नगर्ने भएको छ।

‘तत्काल नगरिनहुने काम मात्र गर्ने निर्णय भएको छ’, पराजुलीले भने, ‘महानगरभित्र व्यवसाय सञ्चालन गर्ने, सञ्चालक र त्यहाँ काम गर्ने कामदारलाई मास्क लगाउन अनिवार्य गरिएको छ। त्यसका लागि समितिले अनुगमन गर्नेछ।’

प्रमुखका अनुसार मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैयाँ लिएर मास्क उपलब्ध गराइनेछ। दोस्रो पटक पनि नलगाएको पाइएमा १५ दिनका लागि व्यवसाय नै बन्द गरिदिने निर्णय गरिएको छ।

उनले परीक्षणको दायरा समुदाय स्तरमा बढाइने र तरकारी पसल, गुदरी बजार, हाटबजार आदिलाई गम्भीरताका साथ अनुगमन गरिने उल्लेख गरे।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यसअघि प्रदेश सभामा प्रदेश १ मा कोरोना भाइरस समुदाय स्तरमा फैलिसकेको बताएका थिए।

‘मुख्यमन्त्रीको पनि भनाइ सार्वजनिक भइसकेको छ’, पराजुलीको भनाइ थियो, ‘अब कडाइ गर्ने र परीक्षणको दायरा बढाउने विधि अपनाइनेछ। हामी कुनै पनि बेला अब लकडाउनमा जान सक्छौँ। त्यसैले सबैलाई सचेत भएर स्वास्थ्यसम्बन्धी मान्यता पालन गर्न अनुरोध गरिरहेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell