काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा लकडाउन सकिएकोले स्वास्थ्य सावधानी अपनाउदै नियमित कार्यक्रम गर्न प्रतिष्ठानहरुलाई निर्देशन दिएका छन्।
आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री भट्टराईले सबै प्रतिष्ठानहरुले आउँदो १५ गते भित्रमा मन्त्रालयमा गत आर्थिक बर्षमा हासिल गरिएका मुख्य उपलब्धिहरु पेश गर्न निर्देशन दिदै एकै प्रकृतिको काम सबै मिलेर गर्न आग्रह गरे।
मन्त्री भट्टराईले चालु आर्थिक बर्षमा शत प्रतिशत प्रगति देखिने गरी काम गर्न काम आग्रह गर्दै आफनो जिम्मेवारी प्रति जवाफदेही बनाउनका लागि सचिवले मन्त्रीसँग र मन्त्रीले प्रधानमन्त्रीसँग वार्षिक कार्य सम्पादन करार सम्झौता गरे जस्तै प्रज्ञा प्रतिष्ठानमा कार्य सम्पादन करार सम्झौक्ता गर्न सुझाव समेत दिए।
मन्त्री भट्टराईले पिछडिएको समुदायलाई अगाडि ल्याउन प्राज्ञिकहरुकले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। उनले निराशा बोकेको जमातलाई प्राज्ञिकको तर्फबाट सकारात्मक सोचको विकास गराउन प्रेरित गर्न आग्रह गरे।
उनले जातजाति, भाषा तथा संस्कृतिको विविधता भएको हाम्रो देशमा प्राज्ञिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले परिर्वतनको लागि विभिन्न समयमा भएको क्रान्तिमा प्राज्ञिकहरुले खेलेको भूमिका स्मरण गराउँदै अहिलेको अवस्थामा प्राज्ञिकले भुमिका खेल्नुपर्ने धारणा राखे।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रतिष्ठानले भाषा संस्कृति साहित्य दर्शन कलाको क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै बाहय सम्बन्ध विस्तार गर्न आग्रह गरे।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतले आआफनो प्रतिष्ठानले गरेको प्रगति तथा चालु आवको कार्यक्रम पेश गरेका थिए।
