PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

महाबौद्धमा भेटिए ५ जना कोरोना संक्रमित, भारतबाट फर्किएर व्यवसाय संचालन गर्दै थिए



पहिलोपोस्ट

महाबौद्धमा भेटिए ५ जना कोरोना संक्रमित, भारतबाट फर्किएर व्यवसाय संचालन गर्दै थिए

काठमाडौं : काठमाडौंको महाबौद्धमा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितहरुले महाबौद्धमा रहेको प्रधान आर्केड अगाडिमा होलसेल पसल सञ्चालन गर्दै आएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए।

दुई जना संक्रमितहरु करिब दुई हप्ता अघि भारतको सितापुरबाट काठमाडौं आएका थिए। वडाले बाहिरबाट आउनेहरुले सम्पर्क गर्न भनेपनि उनीहरुले कुनै सूचना नदिएको बज्रचार्यले बताए।

‘केही समयपछि टाउको दुख्ने र श्वास प्रश्वासमा समस्या देखिएपछि उनीहरुले कोरोना परीक्षण गराएका थिए। उनीहरुको रिपोर्ट पोजिटिभ आयो। त्यसपछि उनीहरु सँगै बस्दै आएका बुबाआमा र काम गर्ने एकजनाको समेत परीक्षण गर्दा उनीहरुको रिपोर्ट समेत पोजिटिभ आयो,’ उनले भने।

संक्रमण पुष्टि भएसँगै वडाले महाबौद्ध क्षेत्रमा पसल बन्द गर्न र सर्तक रहन आग्रह गरेको थियो। तर, व्यवसायीहरुले उक्त आग्रह नमानेको बज्राचार्यले बताए।

‘हामीले आग्रह मात्रै गर्ने हो। सम्वनय गर्ने हो। उहाँहरुले मान्नु भएन। प्रहरी र सेनालाई भनेका छौँ। भोलि छलफल गर्छौं। उनीहरुबाट अरुलाई सरेको भए अर्को समस्या हुन्छ नि,’ उनले भने।

हाल संक्रमितहरुले पसल सञ्चालन गर्दै आइरहेको क्षेत्रमा व्यवसाय गर्दै आइरहेकाहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

काठमाडौंको भित्री बस्तीमा संक्रमितहरु भेटिएसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ। लकडाउन खुकुलो भएसँगै असन, महाबौद्ध क्षेत्रमा बजार खुलेको र मानिसहरुको भीड बढ्दै गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell