PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नेकपामा कलह : स्थायी कमिटी बैठकको मिति नजिकियो, ओली- प्रचण्ड भेट अनिश्चित



कुञ्जरमणि भट्टराई

नेकपामा कलह : स्थायी कमिटी बैठकको मिति नजिकियो, ओली- प्रचण्ड भेट अनिश्चित
फाइल फोटो।

काठमाडौं : २५ दिनको अन्तरालमा ८ पटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको पछिल्लो पटक निर्धारण गरिएको मिति नजिकिँदो छ।

साउन ६ गते बाढीपहिरोको कारण देखाउँदै स्थगित गरिएको बैठक यहि मंगलवार बोलाइएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि सहमति खोज्ने भन्दै बैठक स्थगित हुँदै आएको छ। नेताहरुबीच निरन्तर वार्ता भइरहेपनि बाढीपहिरोलाई देखाउँदै सहमति गर्न दिइएको समयमा समेत कुनै प्रगति हुन सकेको छैन। यसबीच, मंगलवार पनि बैठक सञ्चालन हुनेमा अनिश्चितता कायम नै रहेको नेताहरु बताउँछन्।

कोभिड-१९ र बाढी पहिरो जस्ता विपद् छायाँमा पार्ने गरी चुलिएको नेकपा विवाद सहजै अवतरण हुनेमा आशंका पैदा भएको छ।

यतिबेला बाहिर देखिने गरी नेकपाको गतिबिधि ठप्प जस्तै छ। गुटगत भेलाको पारो पनि घटेको छ। कलहले निकासको बाटो पहिल्याएको छैन।

कलह साम्य हुनुपर्ने बेलामा नेताहरु सार्वजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएका छन्। जसकारण पार्टीको विवाद झनै जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रवार पुष्पलाल र नरबहादुर कर्मचार्यको स्मृति सभामा दिएको अभिव्यक्तिले नेकपाको अन्तर कलह झनै छर्लङ्गै भएको छ।

कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको आरोप लगाए।

स्थायी कमिटी बैठक चलिरहेकै बखत निर्वाचन आयोगमा एमाले दर्ताको निवदेन परेपछि बैठकका लागि तय गरिएका एजेण्डाहरु नै मोडिन पुगेका थिए। त्यस्तै, नेता नेपालले बहुमतबाट भएको निर्णय सबैले मान्नुपर्ने बताउँदै बहुमतबाट निर्णय गरेर जाने संकेत गरेका छन्।

असार १० गतेबाट शुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीको राजीनामा माग गरेका थिए। जसकारण तय बैठकमा सीमा समस्या बाहेक अन्य विषयले प्रवेश नै पाउन सकेको छैन।

बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओलीले आफूलाई नयाँ नक्सा जारी गरेकै कारण आफूलाई पदबाट हटाउन लागिएको अभिव्यक्ति दिए। मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा ओलीले दिएको अभिव्यक्तिले विवाद झनै चर्कायो। उनले आफ्नै पार्टीका नेताहरुले आफ्नो सरकार ढलाउन खोजेको आरोप लगाएपछि प्रचण्ड-नेपाल पक्षले विरोध गरेको थियो। नेताहरुबीच विवाद बढ्दै जाँदा पार्टी विभाजन समेत हुन सक्ने अनुमानहरु भए।

पार्टी फुटको संघारमा पुगेको भन्दै असार १८ गते बसेको बैठकले कलहको छिनोफानो गर्ने जिम्मेवारी दुई अध्यक्षलाई सुम्पिएको थियो। बैठक रोकेर नै छलफलको समय दिइएपनि अध्यक्षद्वयले सहमतिको विन्दु पहिल्याउन सकेन। दिनहुँको भेटबाट दुई नेता टसमस भएनन्। विवाद ज्यूँका त्यूँ रह्यो।

दुई अध्यक्षको भेट अनिश्चित

दाहाल र नेपालले एउटै मञ्चबाट विरोध चर्काएयता ओली-दाहालबीच ‘सहमति खोज्ने’ वातावरण बन्न सकेको छैन। पार्टीको किचलो छिनोफानो गर्ने जिम्मा पाएका अध्यक्षद्वको शुक्रवार दिउँसो छलफल भएको थियो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अबको भेट कहिले भन्ने तय भइसकेको छैन।

‘दुई अध्यक्षबीच शुक्रवार भेट भएको थियो। त्यसयता छलफल भएको छैन। कहिले भेट्ने भन्ने तय भइसकेको छैन,’ सापकोटाले भने।

स्थायी कमिटी बैठक नजिकिँदै गर्दा अध्यक्षद्वयको छलफल रोकिनुले मंगलवारको बैठक अनिश्चितता भएको नेताहरुको बुझाइ छ।

अहिलेकै अवस्थामा बैठक सञ्चालन हुने सम्भावना कम रहेको बताउछन्, स्थायी कमिटी सदस्य गणेश साह।

‘नेताहरु सार्वजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रिन थाल्नुभयो। नेताहरुबीच सहमति भएको पनि छैन। यसले विवाद छर्लङ्गै बनाएको छ। पार्टीमा विवाद झनै चर्किएको संकेत गरेको छ। यहि अवस्थामा बैठक बस्ने सम्भावना कम छ,’ साह भन्छन्।

अर्का स्थायी कमिटी सदस्य रघुजी पन्त अहिलेसम्म बैठक बस्ने नै जानकारी पाएकाले बैठक बस्न सक्ने बताउँछन्।

महाधिवेशन ‘कार्ड’ जबजले रोक्यो

साउन ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा नै अध्यक्ष बन्ने प्रस्ताव अघि सारेका थिए। जसबाट ओलीले प्रचण्डलाई सहमतिमा लिने प्रयास गरेका थिए। पार्टीको विवाद समाधानका लागि भन्दै ओलीले चलाखीपूर्ण ढंगले महाधिवेशन कार्ड फालेको बताइन्छ।

नेता नेपालले बैठकमा नै मंसिरमा महाधिवेशन सम्भव नहुने जवाफ दिए। बैठकमा प्रचण्ड मौन रहेपछि नेपाल पक्ष सशंकित बनेको थियो। नेताहरुको आशंका मेटाउदै प्रचण्डले मंसिरमा महाधिवेशन प्रस्तावमा आफू असहमत रहेको प्रस्टीकरण दिएका थिए।

साउन ५ गते आफ्ना समूहका स्थायी कमिटी सदस्यहरुलाई बोलाएर वैचारिक विषय टुंगि नसकेकाले अर्ली महाधिवेशन प्रस्ताव सम्भव नभएको प्रचण्डले ब्रिफ गरेका थिए।

ओली पक्षले भने प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सहमति जनाइसकेको दाबी गर्दै आएका छन्। तर, जनताको बहुदलीय जनवादमा सहमत भए मात्रै मंसिरको महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव आएपछि प्रचण्ड पछि हटेको बताइन्छ।

यसको संकेत प्रचण्डले शुक्रवारको कार्यक्रममा दिए। जनताको बहुदलीय जनवाद र माओवाद जिन्दावाद भन्ने नारा लगाए एकता नरहने भन्दै उनले चेतावनी दिएका थिए। वैचारिक विषयमा पार्टीमा बहस हुनुपर्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell