PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हतारिँदै टीयू: 'हेल्थ इज वेल्थ' कि 'विद्या धनम् सर्वधनम् प्रधानम्'



मुकुन्द घिमिरे

हतारिँदै टीयू: 'हेल्थ इज वेल्थ' कि 'विद्या धनम् सर्वधनम् प्रधानम्'

काठमाडौं : पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु संचालनका लागि भटाभट सूचना निकालिरहेको छ। सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विश्वविद्यालयले प्राध्यापकहरुलाई हाजिर गराउन थालिसकेको छ भने परीक्षा लिने तयारी पनि अघि बढाइसकेको छ।

सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायातसमेत सञ्चालन गर्ने निर्णयमा टेकेर विश्वविद्यालयले भदौको दोस्रो साताबाट स्नातक तह र विस्तारै अन्य विभिन्न परीक्षाहरु सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

त्रिविले परीक्षाको तयारी गरेपछि लकडाउनका कारण गृहजिल्लामा पुगेका विद्यार्थीहरु अहिले अन्योलमा छन्। सरकारले लकडाउन अन्त्य गर्दै १ गतेबाट लामो दुरीको यातायात खोल्ने अनुमति दिएको छ। तर जोखिम घटेको छैन बरु बढेको बढ्दै छ। अझ बाढी पहिरोको प्रकोप पनि थपिएको छ। तर त्रिविको हतारो हेर्दा लाग्छ विश्वविद्यालयलाई 'हेल्थ इज वेल्थ' भन्दा पनि ‘विद्या धनम् सर्वधर्मम प्रधानम्' को पक्षमा छ। र, कोरोना महामारी र प्राकृतिक विपतलाई हेर्दै नदेखे जस्तो गर्दै परीक्षा अघि बढाउन लागिपरेको छ।

सरकारले लकडाउन अन्तय गरेपनि अझ केही जिल्लामा कोरोनाको संक्रमण अनियन्त्रित हुने देखिएर निषेधाज्ञा नै जारी गरिएको छ। यस्तो अवस्थामा देशका विभिन्न स्थानमा रहेका विद्यार्थी एकैपटक ह्वार्ह्वार्ती काठमाडौं आउने र परीक्षा दिन भेला हुने हो भने जोखिम अझ बढ्ने देखिन्छ।

साउन ९ गते प्रकाशित त्रिभुवन विश्वविद्यालको व्यवस्थापन संकायको सूचना बमोजिम स्नाकोत्तर तहको परीक्षा साउन भदौको दोस्रो हप्ता र स्नातक तहका विभिन्न परीक्षाहरु तेस्रो साताबाट सञ्चालनमा ल्याउने उल्लेख छ।

'नेपाल सरकारबाट भाद्र १ गतेदेखि लामोदुरीको यातायात समेत सञ्चालन गर्नेगरी लकडाउन खुला गर्ने निर्णय गरेकाले यस संकायबाट स्थगित गरिएका स्नाकोत्तर तहका परीक्षाहरुको सन्दर्भमा २०७७ भाद्र दोस्रो हप्तादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौं तथा सातौ तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ।' साउन ९ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तोमा जिल्ला पुगेका विद्यार्थीहरु अन्योलमा छन्। 'कोभिड १९ संक्रमणको जोखिमबाट बच्न सक्ने सुरक्षाको निश्चितता के छ? यस्तो त्रासदीको बीचमा विद्यार्थी को मनोबैज्ञानिक अवस्थाको स्थिति कस्तो होला? यात्राको क्रममा ठेल मठेल र हुल मुल बाट के ऊ चोखो रहन सक्ला?' त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका छन्।

त्यस्तै आइतबार नेपाल प्राध्यापक संघले भौगोलिक जटिलता र अहिलेको अवस्थामा असम्भव रहेको भन्दै विश्वविद्यालयको परीक्षा संचालन गर्ने निर्णयलाई तत्काल पुनर्विचार गर्न माग राखेको थियो।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले भने दैनिक सम्भावित जोखिमलाई हाइलाइट गर्न छुटाएको छैन। अझै पनि सकेसम्म अत्यावश्यक अवस्था बाहेक घरभित्रै बस्ने र सामाजिक दुरी कायम राख्नेमा जोड मन्त्रालयको छ।

'दिनहुँ केस आइरहेका छन्। जोखिम यथावत नै रहेको छ। अनुहार हेरेर कसलाई कोरोना छ वा छैन भन्न सकिँदैन। कतिपय संक्रमितहरुमा लक्षण पनि देखिँदैन। त्यसैला हामी सावधानी अपनाउनु पर्ने हुन्छ,' आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने।

मन्त्रालय अझै सतर्क रहन भन्दैछ । त्रिवि भने परीक्षा गराउने सुरसारमा छ।

के भन्छन् विद्यार्थी नेता?

नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराई परीक्षाको मिति तोकेर त्रिविले गैरजिम्मेवार प्रवृति देखाएको बताउँछन्।

'त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार देखियो। परिस्थिति र अहिलेको संकटलाई नदेखेर आफूमुखी मात्र भएको देखियो,' उनी भन्छन्, ' यसमा राजितिक अखडामात्रै बन्ने तर प्रज्ञिक क्षमता देखिएन।'

नेपाल विद्यार्थी संघले १० गते विज्ञप्ति निकाल्दै सामान्य अवस्थामा फर्किएपछिमात्र परीक्षालगायतका शैक्षिक गतिविधिहरु गर्न माग गरेको थियो।

'परीक्षाका लागि तयारी गर्नसमेत समय अपर्याप्त रहेको र शैक्षिक संस्थादेखि उपत्यका बाहिर रहेका र परीक्षा केन्द्रभन्दा टाढा रहेका विद्यार्थीहरुलाई यावत कारणले परीक्षा केन्द्रमा आइपुग्न समस्या रहेकाले यो व्यवाहारिक समस्यालाई ध्यान दिँदै परीक्षाको कार्यतालिकामा फेरबदल गर्न हामी जोडदार माग गर्दछौं' नेविसंघले त्रिविलाई बुझाएको पत्रमा लेखिएको छ।

त्यस्तै सत्तारुढ दल नेकपाको भातृ सङ्ठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले पनि विश्वविद्यालयको निर्णय अव्यवाहारिक भएको भन्दै सच्याउन माग गरेको छ।

'लकडाउनका बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीहरुको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयसमेतलाई पटक्कै खाल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवाहारिक र असान्दर्भिक रहेको स्पस्ट छ।' सहसंयोजन रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

अनेरास्ववियुले सरोकारवाला सबैसँग छलफल गरेर मात्र अघि बढ्न त्रिविसामु माग राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell