काठमाडौं : बिहीवार राति काठमाडौंको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेको घटना योजनाबद्ध रुपमा भएको पुष्टि भइसकेको छ। प्रहरीले अभियुक्तको साविति बयान, घटनामा प्रयोग भएको एसिडको बोतल, सीसी क्यामरा फुटेज तथा केही प्राविधिक पक्षलाई आधार बनाएर घटनामा संलग्न दुई जनालाई अभियोग पुष्टि भइसक्ने पर्याप्त आधार फेला पारिसकेको जानकारी दिएको छ।
शुक्रवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको थियो। प्रहरीले रौतहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने ४७ वर्षीय मोहम्मद आलम र भारत घर भई डल्लु बस्दै आएका २२ वर्षीय मुन्ना भनिने फैयाज आलमलाई बिहीवार राति ११ बजे डल्लुबाट पक्राउ गरेको थियो। पक्राउ परेका आलम गार्मेन्ट व्यवसायी हुन्। अर्का अभियुक्त भने आलमकै कारखानामा काम गर्दै आएका थिए।
बिहीवार करिव ७ बजेर ५५ मिनेटमा आलमको योजना नै ओखलढुङ्गा घर भई हाल बाफल बस्दै आएकी २२ वर्षीया युवतीमाथि उनीहरुले योजनावद्ध रुपमा एसिड प्रहार गरेका थिए। योजनाअनुसार घरबाट ल्याएको ट्वाइलेट सफा गर्ने एसिड फैयाजले युवतीमाथि प्रहार गरेका थिए। तर, प्रहरीले अहिलेसम्म उनीहरुले एसिड कहाँबाट ल्याएका थिए भन्ने खुल्न सकेको बताएको छ।
'अनुसन्धानका हरेक पाटो हेरिन्छ। एसिड कहाँबाट ल्याएका थिए भन्ने खुलेको छैन,' परिसरका एसएसपी श्याम ज्ञवालीले भने।
आलमले योजना अनुसार नै आफ्नो घरमा ट्वाइलेट सफा गर्न राखेको एसिड रक्सीको बोलतमा राखेर ल्याएका थिए। मुन्नाले आफ्नो गोजीमा एसिड बोकेका थिए। करिब २ सय एमएलको बोलतमा एसिड राखिएको थियो।
'युवतीलाई आलमले केही प्रस्ताव राखेको तर उनले त्यो प्रस्ताव अस्वीकार गरेपछि घटना भएको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।
पीडित युवती र आलमको तीन वर्षअघि नै चिनजान भएको थियो। युवतीकी दिदी आलमकै कारखानमा काम गर्थिन्। सोही क्रममा पीडित युवती पनि केही महिना आलमको कारखानामा काम गर्ने गरेको खुलेको छ। उनको प्रस्ताव अस्वीकार गरेपछि आलमले एक सातादेखि एसिड प्रहार गर्ने योजना बुनेका थिए जसका लागि घरमा नै राखेको एसिड उनको लागि हतियार बन्यो। 'हाम्रो देशमा एसिड बेच्न प्रतिवन्ध छैन। कतिपय एसिड घरायसी कुरामा पनि प्रयोग हुन्छन्। सजिलै किन्न पाइने रहेछ,' एसएसपी ज्ञवालीले भने।
२०७६ जेठमा कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण प्रहार भएको थियो। घटना युवतीका पूर्व श्रीमानले घटाएका थिए। काभ्रे घर भएका विष्णु भुजेल साँझ एसिड आक्रमण गरेका थिए। भुजेलले काभ्रेमा नै एसिड किनेर काठमाडौं आएको अनुसन्धानमा खुलेको थियो। उनले काभ्रेको एक सुन पसलबाट एसिड ल्याएका हुन्।
नेपालमा ब्याट्री पसल, सुन पसल, साइन्स ल्याबका सामान बेच्ने पसल, ग्यारेज आदि ठाउँमा एसिड सहजै किन्न पाइन्छ। बजारमा आधादेखि एक लिटर एसिड तीन सय रुपैयाँसम्ममा किन्न पाइन्छ। एसिड अन्य घरायसी र उद्योगमा प्रयोग हुने भएकाले बोकेर हिँड्दैमा शंका गर्ने अवस्था हुँदैन।
२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।
