PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कोरोनाको जोखिममा रहेको कचनकवल गाउँपालिकामा निजी विद्यालय सञ्चालनको प्रयास



पहिलोपोस्ट

कोरोनाको जोखिममा रहेको कचनकवल गाउँपालिकामा निजी विद्यालय सञ्चालनको प्रयास
प्रतीकात्मक फोटो

काठमाडौं: झापाको कचनकवल गाउँपालिकामा केही निजी विद्यालयहरु सञ्चालनमा ल्याउन खोजेको पाइएको छ। सरकारले भदौ १ गतेबाट भर्ना खुला गर्न भनिए पनि विद्यालय खोल्न अनुमति दिइनसकेको अवस्थामा गाउँपालिकाका केही निजी विद्यालयहरु सञ्चालन गर्न खोजिएको हो।

ती विद्यालय खुलेपछि गाउँपालिकाले अनुगमन गराएर बन्द गराइसकेको उपाध्यक्ष निमसरी राजबंशीले दाबी गरिन्।

'विद्यालय खुल्यो भन्ने जानकारी आएपछि हामी अनुगमन गयौं। अहिले ती विद्यालय बन्द छन्,' उपाध्यक्ष राजबंशीले भनिन्।

कचनकवल केही समय अघिसम्म झापाको कोरोनाको हट्स्पट बनेको थियो।

अहिले गाउँपालिकामा कोभिड १९ संक्रमितको संख्या ४ जना रहेको गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवले बताए।

'अहिले ४ जना संक्रमित छन्। पहिले १ सय २९ पुगेको थियो। अरु सबै निको भएर फर्किए,' प्रवक्ता यादवले भने, 'वहाँहरु पनि चाँडै निको हुनुहुन्छ होला। क्वारेन्टाइनमा बुधमा २० जना, पथरिया माविमा २२ जना, बनियानी लक्ष्मी माविमा ३२ जना हुनुहुन्छ।'

कचनकवल झापासँग सीमावर्ती क्षेत्र भएकाले पनि कोरोनाको उच्च जोखिममा छ। झापामा हालसम्म ३४४ जना कोरोना संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell