काठमाडौं : रानी पोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको रानी पोखरी पुर्नर्निर्माणको काम वैशाखमा नै सक्काउने लक्ष्य भए पनि लकडाउनका कारण समय सीमा बढेको हो।
पोखरीको मध्य भागमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वर मन्दिर भने अहिलेको पुस्ताले देखेको भन्दा फरक स्वरुपमा निर्माण भइरहेको छ।
२०७२ सालमा भूकम्प जाँदा रानी पोखरीमा रहेको मन्दिर गुम्बज शैलीको थियो। भूकम्प पछि मन्दिर गुम्बज शैलीमा नै निर्माण गर्ने तयारी भए पनि पहिला उक्त मन्दिर ग्रन्थकुट शैलीमा रहेको प्रमाण फेला परेपछि मन्दिर मल्लकालीन शैलीमा पुनर्निर्माण भइरहेको छ। ग्रन्थकुटबाट राणाकालमा उक्त मन्दिरको स्वरुप गुम्बज शैलीमा परिवर्तन गरिएको थियो। राणाकालमा निर्माण भएका अधिकांश मन्दिरहरु गुम्बज शैलीमा बनेका थिए।
पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रमा राणाकालीन शैलीमा नभएर ग्रन्थकुट (शिखर) शैलीमा बनाइएको पाइएको थियो। त्यसैलाई आधार मानेर स्थानीयले मल्लकालीन शैलीमा नै मन्दिर पुनर्निर्माण हुनुपर्ने माग गरेका थिए।
नयाँ स्वरुपमा मन्दिर निर्माणको काम भदौ १५ सम्म सक्काउने लक्ष्य भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ सल्लहकार राजुमान मानन्धरले बताए।
हाल पोखरीमा पानी अड्याउने तयारी भइरहेको छ भने पर्खालको कामहरु सकिन लागेको छ। पोखरीमा पानी भर्नेसम्बन्धमा पनि छलफल भइरहेको उनले बताए। हाल वर्षातको पानीले पोखरीमा पानी जमेपछि प्राकृतिक रुपमा पानी संकलन गर्ने योजना प्राधिकरणको छ। साथै मेलम्ची र टुँडिखेलमा रहेको इनारबाट पनि पानी भर्न सक्ने बारेमा छलफल भइरहेको छ। बोरिङबाट पानी भर्ने योजना समेत रहेको छ। तर, बोरिङबाट पानी भर्दा जमिनमा पानीको सहत कम हुने भन्दै प्राकृतिक रुपमा नै पान भर्नुपर्ने माग समेत भइरहेको छ।
आउने तिहारसम्म रानीपोखरीको पुनर्निर्माण पूर्णरुपमा सम्पन्न हुने प्राधिकरणले जनाएको छ।
