PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा थप १९ जनामा कोभिड १९ संक्रमण, मृत्यु भएका व्यवसायीमा पनि कोभिड देखिएपछि मास टेस्टिङ शुरु



राधेश्याम पटेल

वीरगंजमा थप १९ जनामा कोभिड १९ संक्रमण, मृत्यु भएका व्यवसायीमा पनि कोभिड देखिएपछि मास टेस्टिङ शुरु

वीरगंज : वीरगंजमा आइतबार थप १९ जनामा कोभिड १९ पुष्टि भएको छ। नारायणी अस्पतालको ल्याब रिपोर्टअनुसार आइतवार राति ८ बजे ४ महिलासहित १९ जनामा कोभिड १९ पुष्टि भएको हो। जसमा १५ जना पुरुष छन्।

व्यवसायीको पीसीआर रिपोर्ट पोजेटिभ

नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका वीरगंजका व्यवसायीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। वीरगंज आदर्शनगरका ६५ वर्षीय व्यवसायीको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

उपचारको क्रममा उनको आइतवार बिहान मृत्यु भएको थियो। भारतीय नागरिक रहेका वृद्धको परिवारले विगत २० वर्ष पहिले देखि आदर्शनगरको रुगंटा भवनको मुनी पसल सञ्चालन गर्दै आएका छन्।

नारायणी अस्पतलामा उपचार गराई रहेका ती व्यवसायी मुटुका रोगी र मधुमेहका रोगी थिए। उनको एक सातादेखि श्वासप्रश्सावमा समस्या थियो। शनिवार साँझ उपचार गराउन वीरगंज हेल्थकेयरको कोभिड शाखामा आरडीटी परीक्षण गर्दा उनको स्वाब संकलन गरी गण्डक कोभिड अस्पतालमा भर्ना गर्न पठाइएको थियो। आकास्मिक कक्षमै भेन्टिलेटर व्यवस्थापन मिलाई उपचार भइरहेको अवस्थामा राति ११ बजेपछि उनको अवस्था नाजुक बन्दै गएको थियो ।

मास टस्टिङ शुरु

देशको प्रमुख आर्थिक तथा व्यापारी केन्द्र वीरगंजमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि अनिश्चितकालिन रुपमा घोषणा गरिएको निषेधाज्ञासँगै परीक्षणलाई समेत तीव्रता दिईएको छ। आज नारायणी अस्पताल वीरगंजमा कन्ट्रयाक्ट् ट्रेसिङको आधारमा संक्रमितका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन भई रहेको छ। यता बीरगंजको माईस्थानमा स्थानीय प्रशासनले र रानीघाटस्थित रेल्वे स्कूलमा वीरगंज महानगरपालिकाले छुट्टाछुटै शिविर खडा गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेका छन्।

वीरगंजको माईस्थानमा स्थानीय प्रहरी प्रशासनले संचालन गरेको शिविरमा आज १५० वटा र वीरगंज राधेमाईमा १०९ वटा गरी जिल्ला प्रशासन कार्यालय पर्साले स्वास्थ्य कर्यालय पर्सासँग मिलेर कुल २५९ जनाको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। त्यसैगरी महानगरले आज वीरगंज ९ का बासिन्दाका लागि एक घर, एक पीसीआर परिक्षण अभियान अन्तर्गत गरेको स्वाब संकलनमा १२३ जनाको स्वाब संकलन भएको बताइएको छ। महानगरका मेयर विजयकुमार सरावगीले केही दिनमै ५० हजार जनाको पीसीआर परिक्षण गर्ने लक्ष्य राखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell