PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

भदौ अन्तिममा परीक्षा गर्ने तयारीमा पदाधिकारीबिहीन पोखरा विश्वविद्यालय



पहिलोपोस्ट

भदौ अन्तिममा परीक्षा गर्ने तयारीमा पदाधिकारीबिहीन पोखरा विश्वविद्यालय

काठमाडौं: पोखरा विश्वविद्यालयले भदौ अन्तिम तिर स्थगित भएका परीक्षा सुरु गरेर दशैं अघि सम्पन्न गर्ने तयारी अघि बढाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक सुचना निकाल्दै भदौ अन्तिमतिर परीक्षा गराउने तयारी रहेको जनाएको हो।

सरकारले लकडाउन खोलेको र लामो समययता पदाधिकारीविहीन विश्वविद्यालय रहँदा अन्योलको अवस्था आएकाले आवश्यक तयारीको काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

'पोखरा विश्वविद्यालयमा लामो समयदेखि प्रमुख पदाधिकारीहरुको नियुक्ति नभएका कारण विद्यार्थी, अभिभावक तथा सरोकारवाला वर्गमा अन्योल बढ्न सक्ने अवस्थालाई विचार गर्दै र भोलिको परिस्थिति आशा गरे बमोजिम हुँदै जाने अपेक्षाका साथ पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा लकडाउनसँगै स्थगित भएका स्नाकोत्तर तहका पूर्वनिर्धारित परीक्षा लगायत स्नातक तहका परीक्षाहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको पालनाका साथ यही २०७७ साल भाद्र महिनाको अन्तिम तिरबाट शुरु गरी बडा दशैं भन्दा अघि सम्पन्न गर्नेगरी परीक्षासँग सम्बन्धित तयारीका काम भइरहेको ब्यहोरा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ' विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालको हाल रिक्त रहेको उपकुलपति, रजिस्टार, परीक्षा नियन्त्रक लगायतका अन्य पदाधिकारीहरुको नियुक्ति भए लगत्तै परीक्षा सम्बन्धी विस्तृत जानकारी र तालिका आउन विज्ञप्तिमा जनाइएको छ।

भदौ महिनामै त्रिभुवन विश्वविद्यालयले पनि विभिन्न संकायको परीक्षा सञ्चालनको तयारी अघि बढाएको छ। तर कोरोना महामारीको अवस्था रहेको भन्दै विभिन्न विद्यार्थी संगठन र सरोकारवालाले विश्वविद्यालको 'अपरिपक्व निर्णय' भन्दै आलोचना गरिरहेका छन्।

अर्कोतर्फ भदौमै परीक्षा गर्ने भनेर सूचना निकालेको पूर्वाञ्चल विश्वविद्यालय भने पछि हटेको छ। विश्वविद्यालले अवस्था सामान्य भएपछि सम्मलाई भन्दै परीक्षा स्थगन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell