PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

आइसोलेसनको व्यवस्था नहुँदा पर्सामा ४२ जना कोरोना संक्रमित ‘होम आइसोलेसन’मा



राधेश्याम पटेल

आइसोलेसनको व्यवस्था नहुँदा पर्सामा ४२ जना कोरोना संक्रमित ‘होम आइसोलेसन’मा
फोटो : रासस।

वीरगंज : पर्सामा विगत ११ दिनमा १०५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ५ जनाको मृत्यु भइसकेको छ भने ५८ जना संक्रमितहरु गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत छन्।

४२ जना संक्रमित भने आइसोलेसन वार्डसहितको अर्को अस्पतालको व्यवस्थपन नहुँदा तीन दिनदेखि पर्साका विभिन्न पालिकामा आफ्नै घरमा रहेको गण्डक अस्थायी कोभिड अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले जानकारी दिए। उनले ३ जना आरडीटी पोजिटिभहरु पनि गण्डक अस्पतालमा उपचारत रहेको स्पष्ट पारे।

संकट व्यवस्थापन केन्द्र पर्साले तीन दिन अघि मन्त्रालयको निर्देशिका अनुसार लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा बस्न निर्णय र सिफारिस समेत गरेको छ। त्यसैगरी, ७० बेड क्षमताको गण्डक अस्पताल बाहेक ३ सय बेड क्षमताको सिद्धार्थ माध्यमिक विद्यालयमा लक्षण भएका संक्रमितहरुलाई राखेर व्यवस्थापन गर्ने निर्णय भए तपानि वीरगंज महानगर पूर्व तयारीको काममा सक्रिय देखिएको छैन।

जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार होम आइसोलेसनको लागि लक्षण नभएका संक्रमितलाई स्वास्थकर्मीहरुले एउटा निवेदन भर्न लगाउने र त्यसमा वडा कार्यालय र स्थानीय प्रहरीको निगरानीमा बसी मन्त्रालयले निर्देशन गरेअनुसार नियम पालना गर्नु पर्ने व्यवस्था रहेको बताए।

यस्ता छन् होम आइसोलेसनका नियमहरु :

१. सकेसम्म छुट्टै कोठामा बस्ने, कोठा नभएमा अरु व्यक्तिसँग कम्तिमा २ मिटर टाढा बस्ने,

२. स्वास्थ्योपचारका लागि बाहेक अन्य बेलामा घरबाट बाहिर ननिस्कने। स्वास्थ्य संस्था जानुपरेमा सार्वजनिक यातायात प्रयोग नगर्ने। स्वास्थ्य संस्था जाँदा वा घर परिवारसँग २ मिटर टाढा बस्दा अनिवार्य मास्कको प्रयोग गर्ने,

३. आफूले प्रयोग गर्ने, खाना खाने भाँडा, मञ्जन, दाँत माझ्ने ब्रस, काइँयो, लुगा, रुमाल, तौलिया, तन्ना अरुसँग नसाट्ने। र, प्रयोग गरिएका सामानहरु आफैंले धुने वा माँझ्ने,

४. बेलाबेलामा साबुन-पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, सकभर हातले नाक, मुख, आँखा नछुने,

५. खोक्दा हाच्छिउँ गर्दा कुहिना वा टिस्यु पेपरले नाक-मुख छोप्ने,

६. आफूले प्रयोग गरेको टिस्यु, रुमाल, मास्क जस्ता सामग्री छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र तुरुन्तै मचिमिची साबुन–पानीले हात धुने,

७. रुमाल, लुगा, प्रयोग गरेको तन्नालाई आफैंले साबुन-पानीले धुने र राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने,

८. छुट्टै शौचालयको प्रयोग गर्ने, यदि छैन भने आफूले प्रयोग गरिसकेपछि राम्ररी आफैंले निःसंक्रमण गर्ने पदार्थको प्रयोग गरी सफा गर्ने,

९. जथाभावी नथुक्ने,

१०. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरुको पूर्ण रुपमा पालना गर्ने,

११. हरेक दिन शरीरको तापक्रम नाप्ने र मिति अनुरुप टिपेर राख्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell