PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली नागरिकलाई कालापानीमा टेक्न नदिएको भारतको पत्र,  'नेपालीहरु घुसपैठ गर्दैछन्, पूर्व सूचना दिनू'



कमलराज भट्ट

नेपाली नागरिकलाई कालापानीमा टेक्न नदिएको भारतको पत्र,  'नेपालीहरु घुसपैठ गर्दैछन्, पूर्व सूचना दिनू'

काठमाडौं : धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) अनिलकुमार शुक्लाले १४ जुलाई (१३ दिनअघि) दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई पत्र लेखे। पत्रको विषय छ, ‘अवैध रुपमा सीमा पार गरेर भारत राष्ट्रमा प्रवेश गर्ने सम्बन्धमा।’

पत्रमा विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुबै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय क्षेत्र’ गुञ्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना विशेष सुत्रमार्फत प्राप्त भएको उल्लेख गर्दै नेपाली प्रशासनलाई कुनै सूचना प्राप्त भए तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।

पत्र १३ दिन पुरानो भए पनि हालसालै सार्वजनिक भएको छ। यो पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगिसकेको दार्चुला प्रशासनले जनाएको छ। ‘पत्र आएको छ। भारतीय पक्षले नेपालबाट घुसपैठ हुने सुनियो, के हो? भनेर सूचना मागेका छन्,’ दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले भने, ‘यसको जवाफ सिडिओ सापले दिनुभयो होला।’

रोचक त के छ भने नेपाली भूमिमा नै नेपाली नागरिक घुसपैठ गर्न लागिएको भनिएको छ र नेपाली प्रशासनलाई नियन्त्रणका लागि सूचना मागिएको छ।

‘कालापानीमा नेपाली सुरक्षाकर्मी (सशस्त्र)लाई त जान दिएको छैन। पहिले गइराख्ने ठाउँमा पनि जान रोकिएको छ। जहाँ सुरक्षाकर्मी नै जान सकेका छैनन्, त्यहाँ नेपाली नागरिक कसरी जानसक्छ?’ सहायक सिडिओ कुँवरले प्रश्न गरे।

नेपाली भूभागमा भइरहेको डेभलपमेन्टबाट आत्तिएर भारतीय अधिकारीले निहुँ खोजेको उनको भनाई छ। ‘बीओपी स्थापना भयो। कालापानीतिर गस्ती गयो। उतातिर सेनाले घोडेटो बाटो बनाइरहेको छ। हेलिकोप्टरबाट खाद्यान्न ढुवानी भइरहेको छ। नेपालतिर राज्यको उपस्थिति बलियो भएपछि आत्तिएर निहुँ खोजेका हुन्,’ सहायक सिडिओ कुँवरले भने। नेपाली भूमिमै नेपाली नागरिक घुसपैठ गर्न लागेको भन्नु हाँस्यास्पद कुरा भएको उनको भनाई छ।

स्थानीयका अनुसार कालापानी, छियालेक, लिपुलेकदेखि लिम्पियाधुरासम्म विभिन्न काममा नेपाली कामदार कार्यरत छन्। नेपालको व्यास गाउँपालिकाका छाङरु र तिंकरदेखि भारतको कब्जामा रहेको कुटी नाबी र गरब्याङ तथा लिम्पियाधुरा क्षेत्रमा पर्ने गाउँमा पनि शौका समुदायको बसोवास छ। उनीहरुको भाषा एउटै छ भने पारिवारिक सम्बन्ध पनि छ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर निशान छापसहितको नक्सा सार्वजनिक गरेपछि यी क्षेत्रमा भारतीय पक्षले निगरानी बढाएको छ। नेपालीलाई निषेध गरेको छ भने यहाँ कार्यरत धेरै कामदार कामबाट निकालिएका छन्। नेपाली कामदार राख्न बन्द गरिएको छ।

काठमाडौंमा सरकारले नक्सा जारी गरे पनि भारतको कब्जामा रहेको भूमिको स्वामित्व पाउन भारतसँग वार्ता गर्न सकेको छैन। भारतले वार्ताका लागि समय दिएको छैन। बरु उपस्थिति बढाउँदै लगेको छ।

गत नोभेम्बरमा काश्मिरसहितको नयाँ राजनीतिक नक्सा जारी गर्दा भारतले आफैले विवादित मान्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको थियो। त्यसयता दुई देशबीच बढेको सीमा विवाद नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि उत्कर्षमा पुग्यो। जवाफमा नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell