PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न महानिरीक्षक खनालको निर्देशन



पहिलोपोस्ट

त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न महानिरीक्षक खनालको निर्देशन

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जस्तो सुकै चुनौतीको सामना गर्नका लागि पनि तयार रहन मातहतका कमाण्डरहरुलाई निर्देशन दिएका छन्। हालै सरुवा भएका गणपति एवं तालिम शिक्षालयका समादेशकहरुलाई उनले सो निर्देशन दिएका हुन्।

कोभिड-१९ का कारण उपत्यकामा उपलब्ध कमाण्डरहरुलाई प्रधान कार्यालयमा तथा अन्यलाई प्रदेशस्थित बाहिनीहरुमै सोमवार भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिँदै महानिरीक्षक खनालले राज्यले सशस्त्र प्रहरीमाथि गरेको भरोषा र जनताले गरेको आशालाई तराईदेखि हिमालसम्म निरन्तर खटिएर उत्कृष्ट ढंगले पूरा गर्नुपर्ने बताए। बाहिनीपतिहरु समेत उपस्थित सो कार्यक्रममा उनले व्यावसायिक चरित्र र उच्च अनुशासन प्रदर्शन गर्न निर्देशन दिए।

प्रत्येक तहका कमाण्डरलाई दिइएको जिम्मेवारीको निरन्तर अनुगमन तथा मुल्याङ्कन गरिने र काम सन्तोषजनक नभएमा विगतमा जस्तै कमाण्डबाट अलग गराउने कार्यलाई थप प्रभावकारी बनाइने उनले बताए। उनले सामुहिक भावना, सहयोग, सहकार्य र समन्वयमा कार्य गर्न समेत निर्देशन दिए।

अन्य सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँगको सहकार्यमा राज्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले आफू मातहतका कर्मचारी प्रति अभिभावकत्व लिँदै उनीहरुको कार्य प्रति हौसला र उत्प्रेरणा जगाउनु पर्ने बताए। जिम्मेवारी कुशलता पूर्वक पूरा गर्न र आफूसँग भएका श्रोत साधनको अधिकतम् प्रयोगबाट जस्तो सुकै परिस्थितिमा समेत त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्ने गरि आफू र मातहत कर्मचारीलाई समेत तयार राख्‍न उनले निर्देशन दिए।

संगठन र संगठनले लिएको नीति प्रति आँच आउने खालका कार्य सह्‍य नहुने बताउँदै उनले चेन अफ कमाण्डलाई अक्षरस पालना गर्न र संगठनले लिएको भ्रष्टाचार¸ मानव अधिकार उल्लंघन र लैंगिक हिंसाविरुद्धको शुन्य सहनशिलतालाई पूर्ण पालना गर्दै अनुशासित¸ जिम्मेवार र कर्तव्यनिष्‍ठ भएर फिल्डमा देखिने र महसुस हुने गरी कार्य गर्न समेत निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell