PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जोशीलाई कारबाहीपछि काँग्रेसमा किचलो, महाधिवेशनको माहोल बिग्रने डरले तैँ चुप मै चुप



नेत्र तामाङ

जोशीलाई कारबाहीपछि काँग्रेसमा किचलो, महाधिवेशनको माहोल बिग्रने डरले तैँ चुप मै चुप

काठमाडौं : नेपाली काँग्रेस अनुशासन समितिले पूर्व सह-महामन्त्रीसमेत रहेका काँग्रेस नेता गोविन्दराज जोशीलाई शनिवार कारबाही गर्‍यो। पाँच वर्षसम्मका लागि पार्टीबाट निस्कासन गरेपछि जोशीले मुलधारे काँग्रेसलाई लखेट्न थालिएको अभिव्यक्ति दिए भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकेरै कुत्सित् भावना भएका व्यक्ति भएको आरोप लगाए।

महासमिति सदस्य समेत रहेका जोशीले भोलिपल्ट १७ बुँदे स्पष्टिकरण बुझाए अनुशासन समितिलाई। जोशीले आफूले वरिष्ठ नेता पौडेलविरुद्ध वागी उम्मेद्वारीसमेत नदिएको र आफ्नो रगतमा काँग्रेस रहेको स्पष्ट पारेका छन्।

जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरिएकोमा अहिले यो विषय काँग्रेस वृत्तमा चर्चामा छाएको छ।

कारवाहीप्रति चर्को असन्तुष्टि

कारवाहीप्रति धेरै नेताहरुले असन्तुष्टि जनाएका छन्। पार्टीमा भित्र्याउनुपर्ने बेलामा निकालेर नेतृत्वले ठूलो भूल गरेको कांग्रेसका एक पदाधिकारीले बताए।

ती पदाधिकारीले यसमा काँग्रेसका वरिष्ठ नेता पौडेल मुख्य दोषी रहेको दाबी गरे। उनले सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन नजिकिँदा र पार्टी कमजोर रहेको बेला यस्तो 'एक्सन' लिनु पार्टीका लागि घाटा सिवाय अरु नहुने बताए।

पार्टीले यस्तो विषयमा पुनरावोलकन गर्नुपर्ने बताए पनि उनले खुलेर यस विषयमा बोल्न नमिल्ने बताए।

महाधिवेशन नजिकिएकाले आफ्नो पक्षमा माहोल बिग्रने डरले पदाधिकारीहरु यस विषयमा 'तैँ चुप मै चुप' छन्। तर, औंला भने देउवा र पौडेलतिरै सोझिएको छ।

आफूलाई निर्वाचनमा हराउन मुख्य भूमिका निभाएको भन्दै वरिष्ठ नेता पौडेल जोशीलाई जसरी पनि कारवाही गर्ने पक्षमा थिए।

'जोशीको नामै लिन चाहनुहुन्नथ्यो पौडेलजी,' ती पदाधिकारीले भने। यता आरजु राणा देउवालाई पराजित गर्ने भूमिका खेलेको भन्दै पुस्करनाथलाई हटाउन चाहन्थे सभापति देउवा। यही घानमा परे डडेल्धुराका रामबहादुर विष्ट पनि। यस प्रकरणमा देउवा र पौडेलको मत मिलेकाले कारबाही प्रक्रिया अघि बढेको बुझाई काँग्रेस वृत्तमा चलेको छ। यद्यपि यो कारबाहीको उपयुक्त समय नभएको एक अर्का अर्का पदाधिकारीले बताए।

पार्टीका उपसभापति विमलेन्द्र निधिले भने यस विषयमा अनुशासन समितिलाई अधिकार भएको हुनाले समितिको एक्सनमा प्रश्न उठाउन नमिल्ने उल्लेख गरे। 'अनुशासन समितिलाई कारवाहीको अधिकार छ। त्यसमा हामीले प्रश्न गर्ने ठाउँ रहँदैन,' उपसभापति निधिले भने।

यता केन्द्रीय सदस्य शेखर कोइरालाले भने यो कदमको खुलेरै विरोध गरेका छन्। एकातिर अरु पार्टीका नेतालाई कांग्रेसमा प्रवेश गराउने र अर्कोतिर आफ्ना पार्टीमा लामो समय बिताएकालाई निष्काशन गर्ने भन्दै आइतवार ट्वीटरमार्फत् विरोध जनाएका हुन्। पार्टीका नेतालाई कारवाही गरेकोमा कार्यकर्तामा गलत सन्देश गएको कोइरालाको तर्क छ।

'आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ,' उनले ट्वीटरमा प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell