काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच अनौपचारिक परामर्श भइरहेको छ। केही बेरमा बैठक सुरु गर्ने तयारी छ।
मंगलवार ११ बजेका लागि बोलाइएको बैठक ओली पक्षले एकतर्फी स्थगित गरेपछि प्रचण्ड र नेपाल समूहले बैठक बोलाउने बताएका थिए। स्थायी कमिटी बैठक बोलाउनका लागि तयारी भइरहेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शाहले २० जना भन्दा बढि स्थायी कमिटी सदस्य अहिले बैठक सुरु गर्ने तयारीमा रहेको बताए। अनौपचारिक रुपमा उनीहरुले बैठक सुरु नै गरिसेका छन्। 'अहिले एसम्बली जस्तो मात्रै हो। अब सुरु नै गर्ने तयारी भइरहेको छ,' उनले भने।
ओली समूहका नेता भने बैठक स्थगित भएपछि बालुवाटार पुगेर फर्किएका छन्। प्रचण्ड-नेपाल समूहले भने जसरी पनि बैठक राख्ने भन्दै स्थगितको सूचना पाएका नेताहरुलाई फोन गरेर बोलाएका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आज बैठक बस्नै नसक्ने दाबी गरे। उनले पार्टी कार्यालयले स्थगित भएको सूचना नै जारी गरेकाले त्यो मात्रै आधिकारिक भएको बताए।
साउन ६ गते केहीबेर बसेको स्थायी कमिटी बैठकले १३ गतेसम्मका लागि स्थायी कमिटी स्थगित गरेको थियो। असार १० गते सुरु भएको बैठक महिना दिनभन्दा बढि समयसम्म अनिर्णित बनेको छ।
ओलीको राजीनामा माग्दै चर्किएको नेकपा बिवाद ओली प्रचण्डको पछिल्लो दिनको तिक्तताले झनै चर्किएको छ। पछिल्लो समय एक्ला एक्लै वार्तामा रहेका ओली प्रचण्डबीच केही दिनयता सवांदसमेत हुन सकेको छैन। ओलीले मंसिरमा महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्षका लागि प्रस्ताव गरेको भए पनि प्रचण्डले अस्वीकार गरेर थप रणनीतिमा लागेका हुन्।
