PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

२९ जिल्लामा कोभिड-१९ संक्रमितको मृत्यु, ५६ मृत्यु मध्ये ७ आत्महत्या



विधुर ढकाल

२९ जिल्लामा कोभिड-१९ संक्रमितको मृत्यु, ५६ मृत्यु मध्ये ७ आत्महत्या

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार तीन जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गर्‍यो। मन्त्रालयको तथ्यांक अनुसार कोभिड-१९ को संक्रमण पुष्टि भएका ४८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार मृत्यु पुष्टि गरेकामध्ये सबै प्रदेश २ का रहेका छन्। यससँगै प्रदेश २ कोभिड-१९ को ग्राफमा सबैभन्दा अगाडि उक्लिएको छ। सबैभन्दा बढी संक्रमण पुष्टि भएको प्रदेश २ लाई मृत्युमा भने प्रदेश ५ ले उछिनेको थियो। सोमवार तीन जनाको मृत्यु पुष्टि भएसँगै मर्नेको संख्यामा पनि प्रदेश २ ले प्रदेश ५ लाई पछि पारेको छ। प्रदेश २ मा मृत्यु हुने संक्रमितको संख्या १३ पुगेको छ।

प्रदेश १ मा अहिलेसम्म कुनै पनि संक्रमितको मृत्यु पुष्टि भएको छैन। प्रदेश १ मा संक्रमितको संख्या ९ सय ४५ हुँदा त्यहाँ ७ सय ४७ जना डिस्चार्ज भइसकेका छन् भने १ सय ९५ जना उपचारका क्रममा रहेका छन्।

संक्रमण पुष्टि भइ मृत्यु भएका वा मृत्युपछि संक्रमण पुष्टि भएकाको संख्या प्रदेश ५ मा १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा यस प्रदेशमा ५ जनाको मृत्यु भएको उल्लेख भए पनि प्रदेशको स्वास्थ्य निर्देशनालयले १३ जनाको मृत्यु भएको तथ्यांक राखेको छ। यो संख्या प्रदेशमा कुल संक्रमित संख्याको ०.३० प्रतिशत हो।

प्रदेशमा चार हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएकोमा ९२.९६ प्रतिशत डिस्चार्ज भइसकेको प्रदेशको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएकामध्ये तीन हजार ८ सय ९९ जना डिस्चार्ज हुँदा २ सय ८२ जना उपचारका क्रममा आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, प्रदेश ५ पछि वाग्मती प्रदेशमा सबैभन्दा बढी मृत्यु भएको छ। वाग्मतीमा १० जनाको मृत्यु भएको छ। सबैभन्दा कम संक्रमण पुष्टि भएको वागमतीमा मृत्यु दर १.१ प्रतिशत रहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ९ सय ३० जनामा संक्रमण पुष्टि भएकोमा ५ सय १७ जना डिस्चार्ज भएका छन्। त्यस्तै, ४ सय ३ जना उपचारकै क्रममा रहेका छन्।

सदुर पश्चिममा ८ जना संक्रमितको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उललेख छ। सोमवार साँझसम्म प्रदेशमा चार हजार १ सय ३ जनामा संक्रमण पुष्टि भएकोमा दुई हजार ८ सय १९ जना डिस्चार्ज भइसकेका छन् भने एक हजार २ सय ७६ जना उपचारकै क्रममा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने प्रदेशमा ६ जना संक्रमितको मात्र मृत्यु भएको उल्लेख छ।

कर्णाली प्रदेशमा ६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने मृत्यु हुनेको संख्या ४ छ। कर्णालीमा एक हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएकोमा एक हजार ६ सय ५८ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेशमा प्रदेश र केन्द्रको तथ्यांकमा ४ जनाको मृत्यु भएको उल्लेख भए पनि एक जना आत्महत्याको प्रयास गरेका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको थियो। उपचारकै क्रममा उनमा संक्रमण पुष्टि भए पनि उनको मृत्युलाई दुवै सरकारले समावेश गरेका छैनन्।

गण्डकीमा  एक हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार २ सय ४ जना डिस्चार्ज भइसकेको प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। गण्डकीमा हाल १ सय ९१ जना संक्रमित उपचारका क्रममा छन्।

कुन जिल्लामा कति मृत्यु?

हालसम्म संक्रमण पुष्टिपछि मृत्यु भएका वा मृत्युपछि संक्रमण पुष्टि भएकाहरु ५६ जना पुगेका छन्। जसमध्ये ७ जनाले आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेमध्ये १ जना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमै आत्महत्या गरेका हुन्। त्यस्तै १ जना गोरखाका आत्महत्याको प्रयास गरेपछि उपचारका लागि पाटन अस्पताल ल्याइएकोमा त्यहीँ संक्रमण पुष्टि भएको थियो। पछि उनको मृत्यु भयो।

त्यस्तै, अर्का १ जना भारतमा मृत्यु भइ नेपालमा शब ल्याइ स्वाब संकलन गरी व्यवस्थापन गरिएको र उनमा संक्रमण पुष्टि भएको थियो। यी आठ मृत्युको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छैन। बाँकी ४८ जनाको मृत्युको मात्र तथ्यांक मन्त्रालयसँग छ।

यसरी मृत्यु भएकाहरु २९ जिल्लाका छन्। मृत्यु पुष्टि हुने जिल्लाहरु मध्ये सबैभन्दा धेरै प्रदेश ५ का सात जिल्ला रहेका छन्। त्यस्तै, प्रदेश २ का ६ जिल्ला तथा वाग्मती प्रदेशका पाँच जिल्लामा संक्रमितको मृत्यु भएको छ। सदूर पश्चिम र गण्डकीका ४ तथा कर्णाली प्रदेशका तीन जिल्लामा संक्रमितको मृत्यु भएको छ।

सबैभन्दा बढी पर्सा जिल्लामा पाँच जनाको मृत्यु भएको छ। जसमध्ये एक जना भारतीय नागरिक हुन् भने एक जना वेवारिसे फेला परेको शव हो।

त्यस्तै, काठमाडौं र कैलालीमा ४/४ जनाको मृत्यु भएको छ। काठमाडौंमा मृत्यु भएका एक जना चिनियाँ नागरिक हुन्।

बारा, गुल्मी, अर्घाखाँची र दैलेखमा तीन तीन जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै रौतहट, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत र बाजुरामा दुई दुई जनाको मृत्यु भएको छ।

मृतकको विवरण : सम्बन्धित समाचार पढ्न कैफियतमा उल्लेख हाइपरलिंकमा क्लिक गर्नुहोस्:  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell