PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रचण्ड र झलनाथ खनाल ओलीसँग भेट्दै, बामदेव गौतम र माधव नेपाल पनि छुट्टै वार्तामा



कुञ्जरमणि भट्टराई

प्रचण्ड र झलनाथ खनाल ओलीसँग भेट्दै, बामदेव गौतम र माधव नेपाल पनि छुट्टै वार्तामा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने या बस्ने अन्योल कायम रहँदा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल छलफल गर्न पुगेका छन्।

आजका लागि बोलाइएको बैठक अध्यक्ष केपी ओलीले एकतर्फी स्थगित गरेका थिए। जसरी पनि बैठक सुरु गर्ने भन्दै बालुवाटार पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल ओलीसँग छलफलमा जुटेका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल भने ओलीसँग छलफलमा गएका छैनन्। नेपाल र पार्टी उपाध्यक्ष बामदेव गौतम भने बालुवाटारमा नै अलग्गै छलफलमा रहेका छन्। गौतमले आजैमात्र प्रधानमन्त्रीमा ओलीको पूरा कार्यकाल रहनेगरी ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। यसअघि माधव नेपाल-पुष्पकमल दाहाल समूहको छलफलमा सक्रिय रहँदै आएका गौतमले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अगाडि बढाएको आफ्नो पूर्ववर्ती निर्णयमा यू टर्न लिँदै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए।

यता बालुवाटामा स्थायी कमिटी बैठकमा भाग लिन पुगेका २० जनाभन्दा बढी सदस्यहरु भने अन्योलपूर्ण अवस्थामा रहेका छन्। स्थायी कमिटी बैठक हुने या नहुने भन्ने यकिन भइसकेको छैन। ओली पक्षधर समूहले भने बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ। बैठक स्थगित भइसकेकाले आज बैठक बस्ने नसक्ने ओली समूहका नेताहरुको दाबी छ।

यसअघि बालुवाटारमा बैठक राख्न ओली सहमत नभए पार्टी कार्यालय धुम्बाराहीमा बैठक राख्नेगरी प्रचण्ड नेपालले छलफल अगाडि बढाएका थिए।

प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य यतिखेर बालुवाटारमा नै छन्। बहुमत सदस्य जम्मा भएको र ओली पक्षका नेताले बहिस्कार गरे बहुमतको निर्णय गरेर बढने प्रचण्ड निकट नेताले बताएका छन्।

बामदेव गौतमको ६ बुँदे प्रस्ताव, ओलीको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय र बैठक गराएरै छाड्ने नेपाल-दाहाल पक्षीय नेताको धारणाबीच नेकपाभित्र कायम रहेको राजनीतिक विवाद सजिलै सुल्टिने देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell