बलिउडका चर्चित एक्सन निर्देशक परवेज खानको निधन भएको छ। सन् १९८६ देखि बलिउडमा सक्रिय खानको ५५ वर्षको उमेरमै सोमवार हृद्यघातबाट निधन भएको हो।
परवेजका सहयोगी निशान्तले छातीमा दुखाई महसुस भएपछि अस्पताल लगिएको र त्यहीँ निधन भएको बताएका छन्। निशान्तका अनुसार परवेजमा कुनै रोगबाट ग्रसित थिएनन्।
फिल्म निर्माता हंसल मेहताले खानलाई ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन्। दुबै शाहिद फिल्ममा सँगै काम गरेका थिए।
परवेज खानले एक्सन निर्देशक अकबर बख्शीको सहायकका रुपमा करियर सुरु गरेका थिए। बख्शीसँग परवेजले अक्षय कुमारको 'खिलाडी', शाहरुख खानको 'बाजीगर', बबी देओलको 'सोल्जर' जस्ता फिल्ममा काम गरेका छन्।
परवेजले सन् २००४ को रामगोपाल वर्माको फिल्म ‘अब तक छप्पन’बाट स्वतन्त्र रुपमा एक्सन डाइरेक्सनको काम सुरु गरेका थिए। उनले फिल्म निर्माता श्रीराम राघवनसँग 'जानी गद्दार', 'बदलापुर', 'अंधाधुन' जस्ता फिल्ममा काम गरेका छन्। सैफ अली खानको फिल्म 'एजेन्ट विनोद'मा पनि उनले काम गरेका छन्।
