'द एलेन डिजेनेरेस सो'को आन्तरिक अनुसन्धान हुने भएको छ। मातृसंस्था वार्नर मिडियाले सोको सेटमा कार्यरतहरूको उजुरी पछि छानबिन गर्ने भएको हो।
बजफिडले पहिलो पटक सोको सेटमा 'नस्लवाद, अन्यायपूर्ण निस्कासन, धम्की र विषाक्त कार्य शैली'को सामना गर्नुपरेको बारे जुलाई १६ मा सामाग्री प्रकाशन भएको थियो।
भेराइटीले जनाए अनुसार त्यहाँ कार्यरत् र पूर्व कर्मचारीहरूलाई उनीहरूको अन्तर्वाता र अनुसन्धान गरिने भन्दै जानकारी दिइएको हो।
सोका कार्यकारी निर्माता एड ग्लाविन, म्यारी कोनेली, एन्डी लास्नरले संयुक्त विज्ञप्ती जारी गर्दै भनेका छन्,'दुई दशकको अन्तरालमा ३ हजारभन्दा बढी अंक प्रसारण भए, हजारभन्दा बढी मानिसले काम गरे। यसबीचमा हामीले कार्यालयदेखि सेटमा खुला, सुरक्षित र समावेशी वातावरण बनाएका छौं। यहीं काम गर्ने कोही एक जनाले मात्र पनि नराम्रो अनुभव संगालेको थाहा पाउँदा दु:खी छौं।'
एलेन डेजेनेरेसले सन् २००३ देखि कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्। १७ औं सिजनमा चलिरहेको कार्यक्रमको दैनिक २५ लाख दर्शक छन्। कार्यक्रमले हालसम्म ६१ वटा एम्मी अवार्ड जितिसकेको छ।
