PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!

समातिएको सुन रहेछ 'नक्कली', गाडी लिएर तस्कर चाहिँ सहजै फरार!

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट हुत्तिएर आयो। बिहानको करिब ९ बजेको थियो। प्रहरी सडकमा नै चेकिङमा खटिएको थियो। संयोग वा कुनै पूर्व जानकारी, महानगरीय प्रहरी वृत्त दरबामारगबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा नै टोली खटिएको थियो।

नियमित झैं प्रहरीले कमलादीतिरबाट आइरहेको गाडीलाई चेकिङका लागि रोक्न खोज्यो। गाडी रोकिएन। प्रहरीले पिछा गर्न खोज्यो। गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। गरुङ्गो झोला सडकमा फ्याँलेपछि प्रहरीले त्यसलाई हेर्न थाल्यो।

गाडीभित्रबाट सामान्य तरिका झै फ्याँलिएको झोलाभित्र भेटियो असामन्य वस्तु। झोला सुन र दुई थान पेस्तोलले भरिएको थियो। प्रहरीले फालिएका वस्तु बरामद गर्‍यो त्यत्तिकैमा गाडी त्यहाँबाट टाप।

आज बिहानको घटनाको मुख्य प्लट महानगरीय प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा एसएसपी श्याम ज्ञवालीले सुनाए।

सुनचाँदी व्यवसायी महासंघले गरेको परीक्षणमा बरामद भएको १५ केजी सुन भनिएको पहेंलो धातुमध्ये ५ सय ग्राम अर्थात् आधा केजी सक्कली भएको पुष्टि भयो। बाँकी चाहिँ सुनको जलपमा लपेटिएको चाँदी। सबै बरामद बस्तु सुन भएको भए अहिलेको बजार मूल्य अनुसार १२ करोड रुपैयाँ बराबरको हुन्थ्यो। तर, ४२ लाख ९ हजारको मात्र सुन निस्कियो। बाँकी चाहिँ चाँदी जसको मूल्य करिब १५ लाख रुपैयाँ।

१५ केजी सुन बरामद गरियो भनेर दङ्ग परेको प्रहरी सुन नक्कली भएको प्रमाणित भएपछि खस्रङ् हुनपुग्यो। तर, प्रहरीका लागि दुईवटा हतियार जफत हुनु चित्त बुझाउने विषय चाहिँ बन्यो।

तर, अहिले प्रहरीमाथि एउटा टड्कारो प्रश्न उव्जिएको छ।

आखिर त्यत्तिका सामान गाडीबाट फ्याँकेर हिँड्दा प्रहरीले गाडीलाई किन फलो गर्न सकेन? फलो गरेको भए मानिस सहित समात्न सकिन्थ्यो कि!

गाडीमा चालक र अर्का एक जना मानिस भएको फिल्डमा खटिएका डीएसपी दाहालले नै बताएका छन्। 'मैले देख्दा एक जना चालक र पछाडि अर्का मानिस थिए,' डीएसपी दाहालले भने।

अनि प्रहरीलाई झुक्याउनै गाडीबाट सामान फ्याँलेका थिए त?

बिहान ९ बजेको घटना। कमलादीजस्तो ठाउँमा प्रहरीले केही समयमा नै सुरक्षा संयन्त्र परिचालन गरेर गाडी नियन्त्रणम लिन सक्थ्यो। कि प्रहरीले गाडीमा भएका मानिसको 'नेक्सस' हेर्नलाई वाचमा राखेर छोडेको हुनुपर्‍यो नत्र झोलामा अल्मलिएर गाडी फुत्कियो भन्ने जवाफ चाहिँ पत्यार लाग्दो सुनिन्न। 'कतिपय घटना परिस्थितिले पनि गाइड गर्छ। गाडी स्किप हुने अवस्था भयो। हामीले गाडी कसको हो भन्ने खोज्दैछौं,' एसएसपी ज्ञवालीले भने।

मंगलवार नै प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गरेर जानकरी दिएको छ। तर, नक्कली सुन र हतियार फ्याँक्ने उनीहरु को थिए? के का लागि त्यसरी समाग्री फ्याँलेर भागे? उनीहरु नक्कली सुन देखाएर ठगी गर्ने गिरोह वा राजस्व छली गरेर सुन तस्करी गर्ने गिरोह हुन्? प्रश्नको जवाफ प्रहरीसँग नै छैन।

नकक्ली सुन देखाएर ठगी गर्ने गिरोहसँग नक्कली सुन भेटिएको घटनाक्रम धेरै प्रहरीको रेकर्डमा छ। तर, यहाँ नक्कली सुनसँगै सक्कली सुन पनि भेटियो, भलै त्यसको परिमाण कम होस्। हतियार समेत भेटिनुले थप संदेह पैदा गरेको छ। त्यसमाथि हतियार सहित आएका व्यक्तिले सुन र हतियार फ्यालेर गाडीमात्र लिएर टाप कस्नु कुनै पनि हिसाबले सहज भने लाग्दैन। बाँकी त प्रहरीले थप अनुसन्धानपछि जानकारी दिने नै अपेक्षा गर्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell