PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिममा थप एक जनाको कोरोनाका कारण मृत्यु, दाहसंस्कार पछि आयो रिपोर्ट



एम बम

सुदूरपश्चिममा थप एक जनाको कोरोनाका कारण मृत्यु, दाहसंस्कार पछि आयो रिपोर्ट

कैलाली : सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षीय एक वृद्धको मृत्यु भएको हो। उनी भारतबाट आएर असार २४ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।

१४ दिन क्वारेनटाइनमा राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै आरडीटी नेगेटिभ आएपछि उनलाई साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

दमका बिरामी रहेका उनी घरमा बसिरहेको समयमा ९ गते अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमवार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको जोशीले जानकारी दिए। डडेलधुरा अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जोशीले बताए।

जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डा मिलन खड्काले उनलाई मृत्यु पश्चात् कोरोना पुष्टि भएको बताए। उनको ९ साउनमै परम्परागत रूपमा दाहसंस्कार गरिएको थियो। 

अहिले उनको दाहसंस्कारमा सहभागी भएका र सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको डा खड्काको भनाइ छ।

गाउँमा टेलिफोन नलाग्ने समस्या रहेकाले थप बुझ्ने प्रयास गरिए पनि हिजोबाट सम्पर्क हुन नसकेको उनको भनाइ छ। यद्यपि, अरू कामहरू भने नगरपालिकाले नै गर्ने गरी जिम्मेवारी दिइएको उनले बताए।

बुङ्गल नगरपालिकाका मेयर धन बहादुर विष्टले दाहसंस्कारमा कति जना सहभागी भएका थिए भन्ने यकिन तथ्यांक जानकारीमा नरहेको बताए।

‘गाउँ निकै ठूलो छ’, उनले भने, ‘डेढ सय हाराहारीमा थिए भन्ने सुनेको हुँ।’

तर, बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले भने त्यो भन्दा बढी सहभागी भएको अनुमान गरेका छन्।

‘गाउँमा सम्पर्क हुन नसक्दा यकिन भन्न सकिने अवस्था छैन,’ उनले भने।

यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। त्यसमध्ये दुई जनाले आत्महत्या गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell