PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बालुवाटारको बहुमत बैठकमा बोलेनन् माधव नेपाल, प्रचण्डले भने, ‘ओलीले सूचना जारी गरेर गल्ती गरे'



पहिलोपोस्ट

बालुवाटारको बहुमत बैठकमा बोलेनन् माधव नेपाल, प्रचण्डले भने, ‘ओलीले सूचना जारी गरेर गल्ती गरे'

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका २९ जना सदस्य सहभागी बैठक सकिएको छ।

बालुवाटारमा सम्पन्न स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्य सहभागी थिए। बैठकमा प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई जानकारी नै नदिएर मंगलवारका लागि बोलाइएको बैठक स्थगित गरेको बताए। बैठक सुरु हुनुअघि ओलीलाई भेटेका प्रचण्डले बैठक स्थगनको सूचना जारी गर्नु गलत भएको बताए।

बैठकमा सहभागी स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले स्थायी कमिटी बैठक नभई बहुमत सदस्यको बैठक भएको जानकारी गराएका थिए। बैठकमा बामदेव गौतमले ‌प्रधानमन्त्रीमा ओलीको निरन्तरता र कार्यकारी अध्यक्ष प्रचण्ड हुनुपर्ने भन्दै ६ बुँदे प्रस्ताव पेश गरेका थिए।

स्थायी कमिटी सदस्य गणेश शाहका अनुसार बैठकमा बरिष्ठ नेता माधव नेपालले भने आफ्नो धारणा राखेनन्। 'बैठकमा खासै कसैले पनि बोल्नु भएन। अध्यक्ष प्रचण्डले बोल्नुभएको हो। अरु केही नेताले पनि सामान्य धारणा राख्नु भो। अब फेरि अर्को बैठक सहमतिमा बस्ने भन्ने कुरा भएको छ,' उनले भने। दुई अध्यक्षको सहमतिमा अबको अर्को स्थायी कमिटीको बैठक बस्ने सहमति भएको पनि साहले बताए।

बामदेब गौतम, भीम रावल लगायतका नेताले आफ्नो धारणा राखेर बैठक सम्पन्न नहुँदै निस्किएका थिए।

‘बहुमतको निर्णयमा पुग्न नपरोस्’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफलमा ओलीले पार्टीको विधि विपरित बैठक स्थगित गरेको निष्कर्ष निकालिएको जानकारी दिए। 'पार्टी एकताको रक्षा गर्न, पार्टीलाई बिधिसम्मत अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकासका लागि योगदान दिन सबै नेतालाई आ-आफ्नो ठाउँबाट भूमिका खेल्न छलफल भयो,' उनले भने।

उनले हतारमा कुनै निर्णय नगरिने बताए। सकेसम्म सहमतिबाट समस्याको समाधान खोजिने उनको भनाई थियो। बहुमतको प्रक्रियाबाट अघि बढ्नुभन्दा सहमतिबाटै निकास दिने कोसिस गरिने उनले बताए। केपी ओली र प्रचण्डको सहमतिमा अर्को बैठकको मिति तय हुने उनको भनाई छ। श्रेष्ठले बहुमतको प्रक्रियाबाट निर्णयमा पुग्ने अवस्था आउन नहुनेमा जोड दिए। ‘छिटोभन्दा छिटो बैठक बस्न हामी प्रतिबद्ध छौं। तर हतारोमा बहुमतमा पुग्ने अबस्था नआओस्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell