काठमाडौं : नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न २४ घण्टे अल्टिमेटम दिएको छ। नेविसंघ एनसीआइटीले आयोजना गरेको विरोध सभामा नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २४ घण्टे अल्टिमेटम दिएको हो।
असोजदेखि उपकुलपति रजिष्ट्रार र शिक्षाध्यक्ष नभएका कारण शैक्षिक क्रियाकलापमा प्रभाव पारेको निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए।
‘पदाधिकारी मात्र होइन‚ ३ वटा फ्याकल्टीकै डिन र परीक्षा नियन्त्रक पनि हुनुहुन्न’, त्रिपाठीले भने, ‘नेतृत्व नभएका कारण विश्वविद्यालयमा अन्य शैक्षिक गतिविधि प्रभावित बनेको छ।’
त्रिपाठीका अनुसार विश्वविद्यालयलाई नेतृत्वविहीन बनाएको भन्दै पोखरामा रिले अनसन र काठमाडौं, बुटवल, चितवनलगायतका ठाउँमा नेविसंघले आन्दोलन गरिरहेको छ।
केन्द्रीय समितिको तर्फबाट नेविसंघ उपाध्यक्ष तुलसा पन्तले नेविसंघले बारम्बार चेतावनी दिँदा पनि अटेर गर्ने शिक्षामन्त्रीलाई नेविसंघको आन्दोलनको सामना गर्न चेतावनी दिइन्।

गत असोजमा तत्कालीन पदाधिकारी सकिएपछि बुद्धिराज जोशीलाई निमित्त उपकुलपति बनाइएको थियो।
तर, जोशी कनिष्ठ भएको भन्दै ३ महिना निमित्त भएका उनलाई कार्यकक्ष प्रवेश गर्न दिइएन। अर्को पटक इन्द्रराज तिवारीलाई निमित्त उपकुलपति बनाइएकोमा उनको पनि समयअवधि सकिएपछि पोखरा विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो।
पोखरा विश्वविद्यालयका समस्याहरु यथाशीघ्र समाधान गर्न माग गर्दै विगत ६ दिनदेखि रिले अनशनमा शुरु गरेको थियो। विद्यार्थीको मागमा महामन्त्री वलदेव तिमल्सिनालेसमेत एक्यवद्धता जनाएका छन्। तिमल्सिनाले नेविसंघको माग तत्काल पूरा गर्न सरकारसँग माग गरे।
उनले भने, ‘अनशनरत साथीहरुको विश्वविद्यालयका पदाधिकारी यथाशीघ्र नियुक्ति गर लगायतका जायज माग तुरुन्त पूरा होस्। नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौँ।’
