2.jpg)
लकडाउन अन्त्य भएसँगै पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को संकायको स्थगित भएका परीक्षा सञ्चालन गर्ने सूचना निकालिरहेको छ। मानविकी, शिक्षा, व्यवस्थापन लगायतका विभिन्न संकायहरुमा भदौ दोस्रो वा तेस्रो हप्ता तिर परीक्षा सञ्चालन गर्ने भनेर भटाभट सूचना निकाल्दा कुम्लो कुटुरो बोकेर कोरोना महामारी छल्न गाउँ पुगेका विद्यार्थीहरु अन्योलमा देखिएका छन्।
त्रिभुवन विश्वविद्यालयमा मात्र होइन नेपालकै अरु विश्वविद्यालयले पनि यसरी नै सूचना निकाली रहेका छन्। पूर्वाञ्चल विश्वविद्यालयले त परीक्षा सञ्चालन गर्ने भन्ने सूचना निकालेर फेरि अवस्था सामान्य भएपछि मात्र गर्ने भनेर पछि समेत हटिसक्यो। त्यस्तै, पदाधिकारीविहीन पोखरा विश्वविद्याल पनि भदौ अन्तिममा परीक्षा शुरु गराउने तयारीमा देखिएको छ।
एकातिर कोरोनाको प्रकोप अर्कोतिर बाढीपहिरोको कहर। त्यसमाथि परीक्षाको तयारी। यस्तो अवस्थामा परीक्षा संचालन गर्न गाह्रो हुने भन्दै सरोकारवालाहरुले त्रिविको ध्यानाकर्षण गराएका छन्।
केही शहरहरुमा त कोरोना समुदायमा फैलिएको भन्दै निशेधाज्ञा जारी गरेको अवस्थामा प्राध्यापक संघले नै केही दिन अघि हाजिर हुन बोलाउने विश्वविद्यालयको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
यता विद्यार्थी संगठनहरुले पनि परीक्षा सञ्चालन गर्न उपयुक्त वातावरण निर्माण भइनसकेको भन्दै विश्वविद्यालयको पछिल्लो निर्णय अव्यवहारिक भएको भन्दै त्यसलाई सच्याउन माग गर्दै आएका छन्।
के भन्छन परीक्षा नियन्त्रक?
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी न्यूनतम पूर्वाधारहरु तयार गरेर अवस्था अनुकूल रहे परीक्षाको तयारी गर्ने योजनामा रहेको बताउँछन्।
सरकारले भदौ १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन र विद्यार्थी भर्ना र परीक्षा लिन स्वीकृति दिएको थियो। सरकारले दिएको निर्देशन अनुसार आफ्ना कार्यक्रम अघि बढाउने तयारी गरेको तर्क जोशी गर्छन्।
‘परीक्षा सञ्चालन गर्न न्यूनतम पूर्वाधारहरु आवश्यक हुन्छ जस्तै कोरोना नियन्त्रण हुनुपर्यो् या न्युनिकरण भए पनि हुनुपर्यो। यातायातको सहजता हुनुपर्यो’, एक वेवमिनार कार्यक्रममा जोशीले भने, ‘१० गते शनिवारको दिन ४ वटा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा हामीले करिव ४ घन्टा बसेर गृहकार्य गर्यौँ। त्यसमा सेमेस्टरका थोरै विद्यार्थी भएका कुनै विषय छन् भने त्यसलाई चाही आफ्नो सहजता अनुसार भदौ १५ गतेदेखि नै परीक्षा गर्ने भन्ने कुरा आएको थियो।’
पछिल्लो समय कोरोना समुदायमा देखिएको भन्दै केही शहरहरुमा निशेधाज्ञासमेत जारी गरिएको अवस्थामा परीक्षा अघि यातायातको अवस्था र कोरोनाको अवस्था हेरेर मात्र अघि बढ्ने जोशी बताउँछन्।
हाल विश्वविद्यालयको ‘फोकस’ कम विद्यार्थी भएको विषयहरुको परीक्षा सम्भव भएसम्म सम्पन्न गर्नेमा केन्द्रित रहेको छ।
‘जुन विषयमा थोरै विद्यार्थी छन्, एउटा दुईवटा मात्र पेपर दिन बाँकी छ भने त्यसलाई चाहिँ सञ्चालन गर्ने भन्ने कुरा आएको हो,’ उनले भने।
त्यस्तै विश्वविद्यालयले परीक्षा गराउन हतारो गर्नुको कारण शैक्षिक क्यालेन्डर पनि रहेको छ।
‘क्यालेन्डरको पनि कुरा छ हामी ६ महिना जति पछाडि छौं। दशैं अघि स्थगित परीक्षा सम्पन्न गरेपछि बाँकी परीक्षा सम्पन्न गर्ने हो भने छुटेको समयलाई हामी २ वर्षमा मेकअप गर्न सक्छौं’, जोशीले भने, ‘विद्यार्थीको शैक्षिक वर्ष पनि नबिग्रियोस र भविष्यका लागि जे योजना बनाएका छौ त्यसमा पनि खास असर नपरोस भन्ने हाम्रो योजना हो। सम्भव भएसम्म सावधानी अपनाएर परीक्षा गर्छौं नभए परिस्थिति जस्तो आउँछ त्यही अनुसार निर्णय गर्छौं।’
क्यालेन्डरकै ब्यालेन्स मिलाउने पनि विश्वविद्यालय स्थगित परीक्षा सञ्चालनको तयारीमा लागेको देखिन्छ।
‘खाका बनाउँदा मानविकिको भाद्र २२-२३ देखि गर्ने अनि व्यवस्थापनको ब्याचलरलाई भाद्र २४ देखि असोज २५ सम्म गर्नेकी भन्ने कुराहरु भएको थियो। त्यस्तै शिक्षा संकायको भाद्रको २०/२१ बाट गर्यो भने हाम्रा परीक्षाहरु सहजै गर्न सकिन्छ भन्ने कुरा आएको थियो’, उनी भन्छन्, ‘थोरै विद्यार्थी भएको विषयहरुको परीक्षा गरौं त्यसपछि सहज भयो भने हाम्रो वार्षिक परीक्षा अन्तर्गतका मास्टर्स पहिलो वर्ष र ब्याचलरका चौथो वर्षका ठूला परीक्षाहरु असोज महिनादेखि सञ्चालन गरौं भन्ने हो।’
यद्यपि, विश्वविद्यलयले भदौ महिनालाई चाहीँ पर्ख र हेर को अवस्थामा लिएको देखिन्छ।
‘भाद्र महिना पूरै सहज भयो भने असोज महिनामा हामी त्यो परीक्षा गर्न सक्छौं’, उनी भन्छन्, ‘हाम्रो मोड अफ एक्जामिनेसन भनेको फिजिकल प्रेजेन्स भएकोले सामाजिक दुरी लगायत अन्य सुरक्षाका उपायहरु अपनाउनुपर्ने हुन्छ। त्यसैको तयारी स्वरुप हामीले योजना बनाएका थियौं।’
पूर्वाञ्चल विश्वविद्याल परीक्षा तत्काल गर्ने निर्णय गरेको उदाहरण दिँदै जोशी अझै पनि कोरोनाकै अवस्थाबाट मात्रै परीक्षा निर्धारण हुने बताए।
‘अब भोलि अवस्था के हुन्छ। स्थिति सहज भयो भने हामी यसलाई अघि बढाउँछौं। यदि अवस्था नियन्त्रण बाहिर गयो भने सहज समयमा त्यही तरिकाले जाने तयारी गरिरहेका छौं,’ उनले भने।
विश्वविद्यालयले परीक्षाको मिति तोक्न थालेपछि विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्दै विरोध गरेका थिए। त्यस्तै पदाधिकारीहरुसँग भेटेर हतारोमा परीक्षा गर्ने निर्णय अव्यवाहारिक हुने बताएका थिए। अझ अनेरास्ववियूले त विद्यार्थीको पीसीआर परीक्षणको माग समेत गरेको थियो।
‘हामीकहाँ पनि केही ग्रुप विद्यार्थी साथीहरु आउनुभएको थियो। उहाँहरुले पनि केही पूर्वाधार नभइ परीक्षा नगरौं भन्नु भएको थियो। त्यसमा हाम्रो सहजता र हामीले दिनसक्ने सुविधाबारे मैले मौखिक रुपमा जानकारी गराएको थियौं’, परीक्षा नियन्त्रक जोशीले भने, ‘पीसीआर टेस्ट गर्ने सन्दर्भमा नेपाल सरकारलाई गाह्रो भएको ठाउँमा त्रिभुवन विश्वविद्यालयले सबै विद्यार्थीको पीसीआर परीक्षण गरेर परीक्षामा बसाउने सम्भावना भनेको छैन।’
यद्यपि, अन्य सुरक्षा बिधि अपनाएर परीक्षा गराउन भने विश्वविद्यालय तयार भएको उनको तर्क छ।
‘बाँकी भनेको सामान्य हलमा स्यानिटाइज गर्ने, दुरी कायम गर्नेलगायत सेन्टर थपेर भए पनि सञ्चालन गर्ने तयारी हामी गर्छौं। त्यसमा हामी पनि कन्सियस छौं’, उनी भन्छन्, ‘यही गर्ने भन्दा पनि हामीले मोटामोटी खाका निकाल्यौ। परिस्थिति सहज हुन्छ हामी त्यसलाई चाहीँ अघि बढाउँछौं। नत्र त्यसलाई सार्नु पर्ने वा सुधार गर्नुपर्ने भयो भने पनि हामी तयार छौं।’